काठमाडाैं । नेकपा एमालेका सचिव एवं सांसद् याेगेश भट्टराईले सभामुख पदका उम्मेदवार देवराज घिमिरेलाई मत दिन आग्रह गर्नुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुखसम्बन्धी प्रस्तावमाथिकाे छलफलमा भाग लिँदै सांसद् भट्टराईले घिमिरे सभामुख पदका लागि अत्यन्त याेग्य र सक्षम उम्मेदवार रहेकाले समर्थन गर्न आग्रह गर्नुभयाे ।
सभामुख चयन गर्ने सभामा आराेप-प्रत्याराेप र तिता कुरा नगर्न उहाँले आग्रह गर्नुभयाे । मुटुदेखि नै सरकारलाई विश्वासकाे मत दिएकाे भए सभामुखमा घिमिरेलाई मत दिन कांग्रेस लगायत दललाई सांसद् भट्टराईले आग्रह गर्नुभयाे ।
'मैले प्रमाेद खरेलकाे एउटा गीत सुनेकाे थिएँ - 'माया गर्ने मुटुले हाे निधारले हाेइन', यदि प्रधानमन्त्री ज्यूलाई विश्वासकाे मत मुटुले दिएकाे हाे भने त्याे मत देवराज घिमिरेले पनि पाउनुपर्छ, यदि त्याे निधारतिरबाट हाे भने मेराे भन्नु केही छैन,राष्ट्रिय सहमतिकाे गीत पनि गाइराख्नुभएकाे छ,उहाँहरुले मुटुले नै गीत गाइरहनुभएकाे छ भन्ने विश्वास छ,त्यसैले देवराज घिमिरेलाई मत दिनुहुनेछ'-उहाँले भन्नुभयाे ।
नेपालकाे संसदीय इतिहासमा एमाले सबैभन्दा धेरै दिने र नेपाली कांग्रेस सबैभन्दा धेरै लिने दल भएकाे सांसद् भट्टराईले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'टंकप्रसाद नआएकाे भए के हुन्थ्याे ? हामी के हुन्थ्याे ? साथीहरु पुरानाे भइसकेकाे गीत गाउनुभयाे,हामी गाउन त चाहान्नाैं तर उहाँहरुले गाएपछि हामी पनि त्याे गीत सम्झियाैं ।'
तत्कालीन गठबन्धन त्यसमा पनि कांग्रेस नयाँ सरकार बनाउन असफल भएपछि एमालेले पहलकदमी लिएकाे सांसद् भट्टराईले प्रष्ट पार्नुभयाे । पुस १० गते दिउँसाेसम्म कांग्रेसले आफ्नो कोर्स पूरा गर्न नसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ कोर्स निर्माण गर्नुभएकाे सांसद् भट्टराईले बताउनुभयाे ।
'पुस १० गतेअघि हामीले राष्ट्रपति पनि मागेका थिएनाैं, सभामुख पनि मागेका थिएनाैं, जनादेश अनुसार प्रमुख प्रतिपक्षमा बस्न तयार छाैं भनेकै थियाैं, तर जसले राजनीतिक काेर्स अगाडि बढाउनुपर्ने थियाे, त्याे असफल भएपछि, संविधान रक्षाका लागि हामी अग्रसर भयाैं,हाम्रा अध्यक्षले पहल लिनुभयाे'- उहाँले भन्नुभयाे । पुस १० गतेबाट बनेको नयाँ राजनीतिक कोर्स ५ वर्षसम्म जाने पनि बताउनुभयाे ।
