काठमाडौं । प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले प्रतिपक्षी विनाको संसद् खतरनाक हुने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला संसारमा नै नदेखिएको नाटक देखिएको केसीले बताउनुभयो । ‘अहिले मुलुक अप्ठेरो संकटमा छ, सत्ताको लागि सिद्धान्तको कुरा पनि नहुने, इमान जमानको कुरा पनि नहुने, जोसँग पनि शरण पर्ने’, उहाँले भन्नुभयो ।
नेपालको लोकतन्त्र र गणतन्त्र संकटमा परेको उहाँले बताउनुभयो । यसले विदेशी शक्तिकेन्द्रका चलखेल अझै बढ्ने केसीको भनाइ छ ।
पहिले भन्दा यस पटकको संसद्को बनावट, सरकार बन्ने प्रक्रिया र सरकारमा समावेश भएका व्यक्तिहरूको विगत र वर्तमानले देश झन् झन् अप्ठेरोमा परेको उहाँले भनाइ छ । आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण गर्न गाह्रो भएको उहाँको निष्कर्ष छ ।
पहिलोको गठबन्धन मध्ये नेपाली कांग्रेसले आफूलाई अहिले प्रमुख प्रतिपक्ष भएको बताए पनि उसले प्रधानमन्त्रीलाई किन विश्वासका मत नदिई बस्न सकेन ? भन्दै उहाँले प्रश्न गर्नुभयो । तै पनि राष्ट्रिय जनमोर्चाले कांग्रेसले खडा गरेको सभामुखकी उम्मेदवारलाई मतदान गर्ने उहाँले प्रष्ट पार्नुभयो ।
