काठमाडाैं । राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसदहरुले विश्वभरि नै सुरक्षित मानिएको हवाई यातायातलाई नेपाली आकाशलाई पनि सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाली कांग्रेसका अनिता देवकोटाले पोखरामा यही माघ १ गते ७२ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै पुरानो जहाजलाई विस्थापित गरी नयाँ जहज सञ्चालनमा ल्याउनुपर्ने र नेपाली आकाशलाई सुरक्षित बनाउन सरकारसँग आग्रह गर्नुभयो ।
नेकपा (एमाले) का इन्दु कडरियाले सुरक्षित मानिएको हवाई यातायात दुर्घटना हुँदै जानुले हवाई सुरक्षाप्रति धेरै आशङ्का उब्जिएको हुनाले हवाई सुरक्षालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
स्वतन्त्र सांसद खिमलाल देवकोटाले नेपालमा इसाई धर्म मान्नेहरुले धर्म परिवर्तन गराउन लागिरहेको र गरिबी तथा बेजोगारीको फाइदा उठाउँदै धर्म प्रचार गरिरहेको हुनाले उक्त कार्य रोक्न सरकारलाई सुझाव दिनुभयो ।
नेकपा (एमाले) की दीलकुमारी थापाले पोखरामा विमानस्थल दुर्घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि छानविन समिति गठन भएको हुनाले जटिसक्दो छिटो प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दै हालसम्म तारा यएरको विमान दुर्घटना छानबिन समिति प्रतिवेदन अझै सार्वजनिक नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सोही पार्टीेका नन्दा चपाईले वीर अस्पतालमा आन्द्राको ‘एमआरआई’ गर्ने मेसिन १५ वर्षदेखि सञ्चालनमा नआएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै जतिसक्दो छिटो त्यसलाई सञ्चालनका ल्याएर गरिब जनतालाई सेवा दिनुपर्ने बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का सुन्दरबहादुर विश्वकर्माले नेपालमा पछिल्लो समयमा आत्महत्या गर्नेको सङ्ख्या दैनिक बढ्दै गएको जनाउँदै यस्ता घटना के कारणले बढ्दै गएको छ भन्नेबारेमा अध्ययन गर्न जरुरी भएको बताउनुभयो ।
शान्तिसुव्यवस्थादेखि चिसोबाट नागरिक जोगाउन सरकारसमक्ष आग्रह
राष्ट्रिय सभामार्फत् सरकारलाई देशको शान्ति सुव्यवस्था, शान्तिप्रक्रिया, भ्रष्टाचार न्यूनीकरण, सुशासन, सडक यातायात र यात्रा तथा चिसोबाट नागरिकलाई राहत पु¥याउन चाल्नुपर्ने कदमकाबारेमा ध्यानाकर्षण गराइएको छ । राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने सदस्यले नवगठित राष्ट्रिय एकताको सरकारले मुलुकलाई विकास, समृद्धि र सुशासनतर्फ अघि बढाउन ढोका खुल्ला भएको धारणा राख्नुभयो । नेकपा (माओवादी केन्द्र)का नरबहादुर विष्टले नवगठित राष्ट्रिय एकताको सरकारलाई मुलुकको शान्ति सुरक्षा, शान्ति प्रक्रिया, विकास, सुशासन र समृद्धिको मुख्य लक्ष्य बनाएर काम गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, 'सबै उमेर समूहका व्यक्ति समेटिएको वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको आकाक्षालाई सम्बोधन गर्न सक्षम हुनेछ ।'
नेपाली कांग्रेसका कमलादेवी पन्तले मुलुकको सडक यातायात अस्तव्यस्थ र पीडा दायिक रहेकाले तत्काल सुधारको आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो, 'यात्राका लागि टिकट पाइन्न, कोचाकोच हुँदा महिला हिंसा हुन्छ, महिलाको अस्मिता जोगाउन कठिनछ, भाडादर मुखको बोलीअनुसार छ, यसमा सरकारको विशेष ध्यान पुगोस्, ई–टिकटको व्यवस्था गरियोस् ।'
एमालेका तुलसादेवी दाहाल देशभित्रको आन्तरिक बसाइँसराइले भूगोलका आधारमा जनसङ्ख्याको सन्तुलन र सामाजिक विविधतामा असर परेकाले बेलैमा त्यसको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, 'भ्रष्टाचार न्यूनीकरण र सुशसान कायम गर्नु आजको प्राथमिकता हो, तराईमा भइरहेको शीतलहर र हिमाली क्षेत्रमा बढिरहेको चिसोबाट नागरिकलाई जोगाउन न्यानो कपडा र दाउराको व्यवस्था गर्न आवश्यक छ ।' नेकपा (एकीकृत समाजवादी)का गरिमा शाह नेपाली तीर्थयात्रु बोकेर गएको बस भारतको लखनउमा दुर्घटना हुँदा त्यसमा सवारको निधन भएकामा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का बिना पोखरेलले नयाँ सरकार इन्द्रेणीरुपमा राष्ट्रिय सरकारकारुपमा परिणत भएकाले सबै नेपाली जनतामा उत्साह बढेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, 'यो सरकार सुशासन दिन सक्षम हुनेछ, मुलुकलाई समृद्धिमा लैजाने ठूलो अवसर मिलेको कुरा प्रधानमन्त्रीले प्राप्त मतले पुष्टि गरेको छ ।'
एमालेका सुमित्रादेवी बिसीले आवश्यक सुरक्षा सतर्कता अपनाउन नसक्दा मुलुकमा हवाई दुर्घटना पटक–पटक दोहरिएको बताउनुभयो । उहाँले भन्नुभयो, 'हवाई यात्रालाई विश्वासनीय र परपर्दाे तुल्याउन उडाउन अघि प्राविधिक परीक्षणलाई कडाइका साथ लागू गर्न आवश्यक छ । नेकपा एकीकृत समाजवादीका राजेन्द्रलक्ष्मी गैरे नीति र विधि अधुरो रहेकाले प्रदेश सरचना अझै अस्तव्यस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, 'मुलुकको शान्ति सुव्यवस्थामा खटिएका नेपाल प्रहरीको आफ्नै व्यवस्थापन निकै अप्ठ्यारोमा छ, त्यसमा सुधार आवश्यक छ, राहदानी वितरणमा पनि सहज र सरल हुनुपर्छ ।'
नेपाली कांग्रेस शारदादेवी भट्ट देशमा सबैभन्दा बढी पीडामा किसान रहेकाले उनीहरुलाई खेतीपातीमा सहयोग पुर्याउन समयमै मलखाद्य उपलब्ध गराउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, 'अहिलेको सरकारलाई काम गर्न दिएन, गर्न सकिएन भन्ने छुट छैन, सबैले निकै आशा र भरोसा राखेका छन् ।'
नेपाली कांग्रेसका नारायणदत्त मिश्रले काठमाडाैंकाे टुँडिखेल मिचिएको तथा प्रतिपक्षमा रहेपनि कांग्रेसको काँधमा अहिले पनि सबैखाले शक्तिलाई मिलाएर अघि बढनुपर्ने दायित्व रहेको बताउनुभयो ।
माओवादी केन्द्रका गोपीबहादुर सार्की आछामीले वर्तमान सरकार गठनपछि राजनीति दलप्रति जनताको निकै आशा र भरोसा बढेको बताउनुभयो । उहाँले भन्नुभयो, 'विकास, समृद्धि, सुशासन र भ्रष्टचार नियन्त्रणका लागि दलहरुबीच राष्ट्रिय एकता, सहकार्य र सहमति आवश्यक छ ।'
विश्वविद्यालय विधेयक, २०७९ पेस
राष्ट्रिय सभा आजको बैठकमा विश्वविद्यालय विधेयक, २०७९ पेस भएकोे छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालका तर्फबाट परराष्ट्रमन्त्री डा विमला राई पौडेलले उक्त विधेयकसभासमक्ष पेस गर्नुभएको हो । मन्त्री पौडेलले विधेयक प्रस्तुत गर्दै सूचना र प्रविधिको विकाससँगै मौलिक विषय समेटेर गुणस्तरीय र समयसापेक्ष मुलुकको विकासका लागि उक्त विश्वविद्यालय स्थापना गर्नुपर्ने जरुरी भएको बताउनुभयो ।
उहाँले मुुुलुको समृद्धिका लागि नैतिक मूल्य र मान्यताको विकासका लागि उक्त विधेयक आवश्यकता भएकाले ल्याइएको स्पष्ट पार्नुभयो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुभयो ।
बैठकमा राष्ट्रियसभाअन्तर्गत विषयगत समितिमा रहने सदस्यको थप नाम मनोनयन गरिएको थियो । बैठकमा अध्यक्ष तिमिल्सिनाले जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादवलाई दिगो विकास तथा सुशासन समितिमा मनोनयनका लागि प्रस्तुत गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक यही माघ १० गते १ बजे बस्नेछ ।
–रासस
