काठमाडौं । प्रतिनिधि सभाका २ सय ७५ सदस्य मध्ये बिहीबार सभामुखको निर्वाचनमा २ सय ६८ जना मात्र मतदानमा सहभागी हुनुभयो ।
सात जना सांसद् मतदानमा सहभागी हुनुभएन । ती मध्ये ६ जना बैठकमा नै उपस्थित हुनुहुन्नथ्यो भने ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सभाको अध्यक्षता गर्नुभएकोले मतदान गर्न पाउनुभएन ।
बैठकमा अनुपस्थित नहुने ६ जना मध्ये सबैभन्दा धेरै नेपाली कांग्रेसका चार जना सांसद् छन् ।
कांग्रेसका समानुपातिक तर्फकी उम्मेदवार सपना राजभण्डारी, मनोरमा शेरचन, विनयकुमारी थनैत बैठकमा उपस्थिति हुनुभएन । त्यस्तै एमालेका लक्ष्मी महतो कोइरी र माओवादी केन्द्रका वर्षमान पुन पनि बैठकमा उपस्थित हुनुभएन ।
त्यस्तै मनाङबाट निर्वाचित प्रत्यक्ष तर्फका कांग्रेसका सांसद टेकबहादुर गुरुङ पनि बैठकमा उपस्थित हुनुभएन । गुरुङ निलम्बनमा पर्नुभएकोले उहाँ प्रतिनिधि सभा सदस्यको शपथ नै लिन पाउनुभएको छैन ।
एमालेका लक्ष्मी महतो कोइरी पनि बिहीबारको बैठकमा उपस्थित हुनुभएन । कोइरी महोत्तरी निर्वाचन क्षेत्र नं १ बाट नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हो । कोइरी कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तको सूचीमा हुनुहुन्छ । प्रतिनिधि सभा सदस्यको शपथ लिनुभए पनि उहाँ आजको बैठकमा उपस्थिति हुनुभएन ।
त्यस्तै प्रतिनिधि सभा सदस्य वर्षमान पुन पनि सभामुख निर्वाचित गर्ने बैठकमा उपस्थित हुन सक्नु भएन । उहाँ स्वास्थ्यमा समस्या आएको कारण सुमेरु अस्पताल ललितपुरमा बेड भर्ना भएर उपचार गराइरहनुभएको छ ।
