काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयाेजित एक विशेष समाराेहबीच राष्ट्रपति विद्यादेवि भण्डारीले सभामुख घिमिरेलाई शपथ गराउनु भएकाे हाे ।
झापा-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरे बिहीबार सभामुखमा नियुक्त हुनुभएकाे थियाे । बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा भएकाे मतदानमा १ सय ६७ मतसहित उहाँ सभामुखमा निर्वाचित हुनुभएकाे थियाे ।
सभामुखमा निर्वाचित भएलगत्तै सभामुख घिमिरेले नेकपा एमाले पार्टीकाे सम्पूर्ण जिम्मेवारीबाट अलग भएकाे घाेषणा पनि गरिसक्नुभएकाे छ ।
शपथ समाराेहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली,माधवकुमार नेपाल,डा.बाबुराम भट्टराई लगायत सरकारका उच्च पदस्थ अधिकारीकाे सहभागिता थियाे ।
