काठमाडाैं । प्रतिनिधि सभाकाे उपसभामुखका लागि आज चुनाव हुँदैछ ।
उपसभामुखका लागि सत्ता साझेदार दलका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।
दिउँसाे १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उपसभामुख चयनका लागि मतदान हुनेछ ।
रानाकाे प्रस्तावकमा रास्वपाकी सांसद् सोविता गौतम हुनुहुन्छ । समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजेन्द्रप्रसाद लिङ्देन हुनुहुन्छ ।
यादवकाे प्रस्तावकमा कांग्रेसका बद्री पाण्डे हुनुहुन्छ भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)का सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी हुनुहुन्छ ।
सभामुखकाे चुनावमा सत्ता साझेदार ७ दलसहित ३ स्वतन्त्र सांसद् एकै ठाउँमा उभिएका थिए । साेही अनुसार हेर्ने हाे भने उपसभामुखमा पनि सत्ता गठबन्धनकी साझा उम्मेदवार इन्दिरा निर्वाचित हुने करिब पक्का छ ।
प्रतिनिधि सभामा २ सय ७५ जना सांसद् छन् । सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सांसद्काे समर्थन चाहिन्छ ।
प्रतिनिधि सभामा एमालेका ७९ (सभामुखसहित), माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्तिका ४ सांसद् छन् । यी सबैकाे मत जाेड्दा इन्दिराले १ सय ६७ मत पाउनुहुने देखिन्छ ।
मुक्तालाई कांग्रेससँगै एकीकृत समाजवादी, लाेसपा र जनमाेर्चाका सांसद्ले मत दिनेछन् । सभामुखमा कांग्रेस उम्मेदवारलाई मत दिएकाे जनमाेर्चाले उपसभामुखमा पनि कांग्रेस उम्मेदवारलाई मत दिन सक्ने सम्भावना छ ।
मुक्ताले कांग्रेसका ८९ (टेकबहादुर गुरुङ निलम्बितबाहेक), एकीकृत समाजवादीका १०, लोसपाका ४ र जनमाेर्चाका १ सांसद् गरेर १ सय ३ सांसद्काे मत पाउनुहुनेछ ।
