काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सोबिता गौतमले तुषारे शिशिर गएर नेपालको राजनीतिमा पनि नयाँ वसन्त छाइसकेको बताउनुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकमा इन्दिरा रानालाई सभामुखमा निर्वाचित गरियाेस् भन्ने प्रस्ताव पेस गर्दै सांसद् गाैतमले पुरातन चिन्तनलाई त्यागेर नयाँ चिन्तनकाे विकास गर्न जरुरी रहेकाे बताउनुभयाे ।
प्रतिनिधि सभामा पहिलाे पटक सम्बाेधन गर्नुभएकी गाैतमले सदनकै कान्छाे सांसद्काे रुपमा सम्बाेधन गर्न पाउँदा गाैरव महशुस भएकाे बताउनुभयाे । नेपालकाे राजनीतिमा वसन्त छाइसकेकाे महशुस आफूलाई भएकाे उहाँले बताउनुभयाे ।
'यदि म गलत छैन भने सभामुख महाेदय मेराे उपस्थिति सदनकै निम्ति पनि एेतिहासिक क्षण हुन सक्छ,किनकी म भन्दा कान्छाे व्यक्तिले याे राेष्टमबाट सदनलाई सम्बाेधन गर्ने माैका अवश्य पाएकाे थिएन हाेला'-गाैतमले बताउनुभयाे । दुई सीमान्तकृत समुदायका प्रतिष्पर्धीले उपसभामुखमा प्रतिष्पर्धा गर्नु लाेकतन्त्र सुदृढीकरण हुनु भएकाे उहाँले बताउनुभयाे ।
जनताकाे मतबाट निर्वाचित भएर सदनमा आउनुलाई अंकगणितकाे खेल मात्रै ठान्ने हाे भने त्यसले जनताप्रति अन्याय हुने सांसद् गाैतमले बताउनुभयाे । वादविवाद सदनकाे आधारभूत लक्षण हुनुपर्ने बताउँदै सोबिताले भन्नुभयाे - 'विचारको विविधता र प्रतिपक्षीय विचारको सहनशीलता परस्पर प्रतिष्पर्धात्मक विचारको मन्थनले नै लोकतन्त्रलाई उन्नत बनाउन सक्छ, त्यसैले वादविवाद यस सदनको आधारभूत लक्षण हुनुपर्छ, हाम्रो संसदीय शक्तिलाई फगत अंकगणितको खेल मात्रै मान्यौं भने हामीले पाएको अमूल्य मतको अपमान त हुन्छ नै, तर नागरिकमाथि समग्र देशमाथि पनि अन्याय हुन्छ ।'
सांसद्हरुलाई इतिहास लेख्ने अवसर आएकाे भन्दै उहाँले अवसरलाई अगाडि बढाउन सबै एकमत भएर अगाडि बढ्नुपर्ने बताउनुभयाे ।
इन्दिरा रानाले अत्यन्त कुशलतापूर्वक उपसभामुखकाे भूमिका निभाउन सक्नुहुने विश्वास उहाँले व्यक्त गर्नुभयाे । कारागारमा हुने बाबुआमाका बालबालिकाको पालन पोषण र शिक्षादिक्षामा काम गर्नुभएकी राना उभामुख पदमा विराजमान हुनुले उपसभामुखकाे पदकै गरिमा बढाउने साेबिताले बताउनुभयाे ।
