काठमाडौं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुखको पदमा बस्ने व्यक्तिले पार्टी विभाजनमा भूमिका खेल्न नहुने बताउनु भएकाे छ ।
आज प्रतिनिधि सभा बैठकमा उपसभामुखको उम्मेदवार इन्दिरा रानालाई समर्थन गर्ने सम्बाेधनका क्रममा उहाँले सभामुखलाई निष्पक्ष भूमिका खेल्न सुझाव दिनुभएकाे हाे ।
‘सभामुख र उपसभामुख दलीय व्यवस्थामा दल बलियो हुनुपर्छ, तर सभामुख जस्तो गरिमामय पदमा बसेर कसैको दल फुटाउने भूमिका खेल्नुहुँदैन, कुनै राजनीतिक दलको स्वार्थमा सभामुख जाँदा इतिहासमा त्यसलाई कालो रुपमा सम्झनुपर्ने हुन्छ'-उहाँले भन्नुभयाे ।
कसैलाई लक्षित गरेकाे नभए विगत स्मरण गरेकाे बताउँदै सांसद् श्रेष्ठले भन्नुभयाे - 'म यहाँ कसैप्रति लक्षित गर्न चाहन्न, पुराना सभासदको नाम पनि बिर्सिसकेँ, तर फर्केर हेर्दा नेपाल कम्युनिष्ट पार्टी एमालेलाई तत्कालीन स्थितिमा एमालेबाट माले बनाउन अरु कसैले भूमिका खेलेन, सभामुख जस्तो गरिमामय पदबाट त्यो भूमिका खेलियो ।'
सभामुख र उपसभामुख सिंगाे सदनकाे रेफ्री भएकाले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने उहाँकाे सुझाव छ । 'सभामुख र उपसभामुख सिंगो हलको रेफ्री हो, दायाँ र बायाँको बीचको आसन हो, त्यो आसन दायाँतिर वा बायाँतिर हेरेर बडील्यांग्वेज नदिनुस्, सिधा नजर लगाउनुस्, दुईटा आँखा दुईतिर लगाउनुस्,यसले गाैरव बढाउँछ'- श्रेष्ठले भन्नुभयाे ।
