काठमाडाैं । नेकपा एमालेका सांसद् कृष्णगोपाल श्रेष्ठले सभामुख र उपसभामुख प्रतिनिधि सभाका रेफ्री भएकाे बताउनुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकमा इन्दिरा रानालाई उपसभामुख पदमा निर्वाचित गरियाेस् भन्ने साेबिता गाैतमकाे प्रस्तावलाई समर्थन गर्दै सांसद् श्रेष्ठले सभामुख र उपसभामुखकाे भूमिका निष्पक्ष हुनुपर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'सभामुख र उपसभामुख हामी सबै सिंगाे हलकाे रेफ्री हाे, दायाँ-बायाँ हेरेर बडील्याङगवेज नबनाउनुस्, सीधा हेर्नुस्,तर दुईवटा आँखा दुईतिर पार्नुस्, यसैमा गरिमा र गौरव हुन्छ ।'
सभामुख र उपसभामुख पदीय मर्यादाबाट विचलित हुनु नुहने पनि श्रेष्ठले बताउनुभयाे । तत्कालीन सभामुख अग्नि प्रसाद सापकोटालाई लक्षित गर्दै सांसद श्रेष्ठले सभामुख जस्तो गरिमामय पदमा बस्नेले कसैको पार्टी फुटाउने र कमजोर बनाउने भूमिका खेल्न नहुने बताउनुभयाे ।
नवनिर्वाचित सभामुख देवराज घिमिरेलाई शुभकाना दिँदै उहाँले सभामुखले पार्टी विभाजनमा भूमिका खेल्न नहुने बताउनुभयाे । सांसद् श्रेष्ठले भन्नुभयाे - 'दलीय व्यवस्थामा दल बलियो हुनुपर्छ, तर सभामुखजस्तो गरिमामय पदमा बसेर कसैको दल फुटाउने भूमिका खुल्नु हुँदैन, फुट्न लागेको दल छ भने पनि बचाउने हाे, फुटाउन सघाउने होइन, भोलि पनि त्यस्तो दिन आउनसक्छ, सभामुखज्यु तपाइँ कसैको स्वार्थमा नआउनुहोला, यदी जानुभयो भने इतिहासले त्यसलाई कालो धब्बा लगाएर मात्रै सम्झिनेछ, म यहाँ कसैप्रति लक्षित गर्न चाहन्न, पुराना सभासदको नाम पनि बिर्सिसकेँ, तर फर्केर हेर्दा नेपाल कम्युनिष्ट पार्टी एमालेलाई तत्कालीन स्थितिमा एमालेबाट माले बनाउन अरु कसैले भूमिका खेलेन, सभामुख जस्तो गरिमामय पदबाट त्यो भूमिका खेलियो ।'
उपसभामुखको लागि इन्दिरा राना योग्य र नेपाललाई विश्वमा चिनाउने व्यक्ति रहेकाे उहाँले बताउनुभयाे । उपसभामुखमा रानालाई मत दिन सबै सांसद्लाई आग्रह गर्नुभयाे ।
