काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभामा सभामुखबाहेक अरु कसैको रुलिङ नचल्ने बताउनुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद् साेबिता गाैतमले पेस गर्नुभएकाे इन्दिरा रानालाई उपसभामुखमा निर्वाचित गरियाेस् भन्ने प्रस्तावकाे समर्थन गर्दै अध्यक्ष लिङ्देनले त्यसाे भन्नुभएकाे हाे ।
माघ ५ गते बसेकाे प्रतिनिधि सभा बैठकमा जनमत पार्टीका सांसद् सीके राउतले मौन धारण गराउँदा नउठेकै आधारमा मधेश आन्दोलनका शहीदको सम्मान नगरेको भन्न नमिल्ने उहाँले बताउनुभयाे ।
उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री समेत रहनुभएका लिङ्देनले भन्नुभयाे - 'यहाँ उठने र नउठनेको कुरा बाहिर प्रचारमा आइरहेको छ, सम्माननीय प्रधानमन्त्री अगाडि हुनुहुन्थ्यो, उहाँको उपप्रधानमन्त्री म थिएँ, हामी उठेनौं, यसको अर्थ बाहिर के गइरहेको छ भने कि हामीले मधेश आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदहरूका प्रति हाम्रो चाँही सम्मान छैन भन्ने अर्थमा प्रचार गरिराखिएको छ ।'
संसद्काे आफ्नै मर्यादा हुने भन्दै उहाँले गलत कुरा गर्न नहुने बताउनुभयाे । 'संसद्को एउटा मर्यादा हुन्छ, एउटा नियम हुन्छ र रुलिङ सभामुखको चल्छ, यति कुरा पनि दोस्रो कार्यकाल संसद्मा आएको मैले बुझिन भने, म कुनै भावना वा बहानाले बगे भने त्यसले संसदीय परम्परामा रामो छाप छोडदैन, कि त त्यो विषय सभामुखले रुलिङ गर्नुपर्यो, कि मेरो प्रधानमन्त्री उठनुपर्यो, त्यसकारण यो भ्रम नरहोस्, हामीले त्यो विषयप्रति अनादर गरेको होइन, मलाई लाग्छ प्रधानमन्त्रीले पनि गर्नु भएको होइन,याे गलत प्रचार जानु हुँदैन, हामीले संसदीय मर्यादा भंग गर्नुहुँदैन भन्ने कुरालाई ध्यानमा राखेर हामी नउठेको हो भन्ने कुरा यो संसद्ले पनि बुझोस्, बाहिरी समाजले पनि बुझोस्, म त प्रधानमन्त्रीको तर्फबाट पनि भन्दैछु यस गलत कुरा लैजान पाइँदैन'-उहाँकाे भनाइ छ ।
सांसद् लिङ्देनले देश र विश्वले चिनेकाे व्यक्ति इन्दिरा राना भएकाे बताउनुभयाे । उहाँले उपभामुखका लागि राना उपयुक्त पात्र भएकाे बताउनुभयाे । लिङ्देनले भन्नुभयाे - 'मेरा खुशीका दिनहरूमध्ये आज विशेष खुशीको दिन हो, मैले इन्दिरा रानामगरलाई यो सदनको उपसभामुख पदमा समर्थन गर्ने मौका पाएँ, इन्दिरा रानालाई समाजले, देशले र अन्तर्राष्ट्रिय जगतले समेत चिनेको छ, तर यो सदनमा सबैभन्दा बढी कसैले चिनेको छ भने मैले चिनेको छु जस्तो लाग्छ, एउटा भुइँ मान्छे, जसले आफ्नाे समाज र देशको नाम राख्ने गरी समाजसेवा गरेको छ, आफूलाई सम्पूर्ण रुपमा समाजसेवामा समर्पित गरेको छ, पारितजात जस्ताे साहित्यकारकाे सामिप्यता प्राप्त गरेकाे छ,याे व्यक्तिलाई हामीले उपसभामुखको रुपमा पाउनु गौरवको कुरा हाे ।'
