काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सुमना श्रेष्ठले संसदीय क्यालेण्डर बनाएर काम गर्नुपर्ने बताउनुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकमा उपसभामुख चुनावसम्बन्धी प्रस्तावमाथिकाे छलफलमा बाेल्दै सांसद् श्रेष्ठले काम गर्न भनेर आएका सांसद्ले काम पाउनुपर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'एउटा संसदीय क्यालेण्डर बनाऔं,प्राथमिकता निर्धारण गराैं र त्यसलाई कडाइका साथ दृढ राजनीतिक इच्छाशक्ति बनाएर पालना गराैं, यति भए सदन समयसीमामा बाँधिनेछ, हामी नागरिकप्रति उत्तरदायी बन्नेछाैं र स्वमूल्यांकनकाे आयाम बन्नेछ ।'
प्रतिनिधि सभालाई आक्षेप, व्यंग्य र राजनीतिक खिचातानीकाे थलाे नबनाउन पनि सांसद् श्रेष्ठले सुझाव दिनुभयाे ।
उहाँले महिला सांसद् तथा नेतृलाई चेली नभन्न पनि आग्रह गर्नुभयाे । 'यो सदनमा धेरैचोटि सुनियो, चेली ! महिलाहरू, महिला नेतृलाई चेली भनेपछि पुरुषलाई चेला भन्छाैं ? भनेकाे त सुनेका छौँ ? छैनौँ, मेरो आह्वान छ महिला नेतृलाई चेली नभनियोस्'- सांसद् श्रेष्ठले भन्नुभयाे ।
आत्मियता नै देखाउने भए ५० प्रतिशत महिलालाई सदनमा पठाउने व्यवस्था गर्न उहाँले सुझाव दिनुभयाे ।
