काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसद्को कामलाई व्यवस्थित गर्न संसदीय क्यालेन्डर आवश्यक रहेकाे बताउनु भएकाे छ ।
प्रतिनिधि सभाको आजकाे बैठकमा बोल्दै उहाँले सदन समयसीमाभित्र राख्न संसदीय क्यालेन्डर आवश्यक रहेकाे बताउनु भयाे ।
‘संसद्का कामलाई व्यवस्थित गर्न संसदीय क्यालेन्डर बनाऔं, प्राथमिकता तय गरौं र त्यसको पालना गरौं । यसो भयो भने सदन समयसीमाभित्र बाँधिनेछ । हामी नागरिकप्रति उत्तरदायी बन्नेछौं, स्वमूल्यांकनको आयाम बन्नेछ,’ उहाँले भन्नुभयाे- ‘हामी गर्न भनेर आएका छौं, काम गरौं । तर यो गरिमामय सदनलाई आक्षेप, व्यंग्य र राजनीतिक खिचातानीको थलो नबनाऔं ।’
नेपालकाे सिस्टमनै ध्वस्त भइसकेकाे उहाँकाे भनाइ छ । ‘हामीसँग प्रशस्त वाचा र प्रतिबद्धताहरू छन्, तर स्पष्ट मार्गचित्र छैन । मैले संसद्को यो छोटो यात्रामै अनुभव गरेको आधारमा भन्दा हामीले कहिले के गर्ने भन्ने समयको निश्चितता छैन ।' श्रेष्ठले भन्नुभयाे- 'हाम्रो संरचना बाहिरबाट हेर्दा स्पष्टसँग देखेको रहेनछु । जनमुखी नतिजा नआएको देखेर हामी निराश भइरहेका थियौं । तर सिस्टम भित्रैबाट ध्वस्त भइसकेको रहेछ ।’
उहाँले भ्रष्टाचारको फाइल खोल्ने प्रतिबद्धता जनाएकाहरूले तिथिमिति पर्खिनु नपर्ने जिकिर व्यक्त गर्नुभयाे । ‘हामीले भ्रष्टाचारको फाइल खोल्ने भनेका छौं । तर, हामी कहिले गर्छौं ? के हामी अर्को चुनाव आउनेसम्म पर्खिएर आयोग बनाएर फेरि त्यसैलाई चुनावी एजेन्डा बनाउने हो कि समाधान गर्ने हो ?,’ उहाँले प्रश्न गर्दै भन्नुभयाे- ‘कुन काम कहिले गर्ने ? क्यालेन्डर बनाएर काम गरौं ।’
उहाँले भन्नुभयाे- ‘सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको अपुग भएको प्रतिवेदन हामी कहिले पढ्छौं ? मिटर ब्याजको चक्रमा पिल्सिएका नागरिकलाई अब हामी कति महिनामा पीडामुक्त गर्छौं ? कति महिनामा गर्छौं ? नागरिक उड्ड्यन प्राधिकरणमा आधारभूत सुधार ल्याउनका लागि अझै कति हवाई दुर्घटना हुनुपर्ने हो ? यदि काम नै गर्ने हो भने कहिले गर्ने ? त्यो क्यालेन्डरमा भनौं र गरौं ।’
