काठमाडाैं । एकीकृत समाजवादीका सांसद् मेटमणि चाैधरीले संविधान च्यातिने सम्भावना कायम रहेकाे बताउनुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकमा उपसभामुखमा मुक्ताकुमारी यादवलाई निर्वाचित गरियाेस् भन्ने प्रस्तावकाे समर्थन गर्दै सांसद् चाैधरीले प्रतिनिधि सभा विघटनलाई लक्षित गर्दै संविधान च्यातिने सम्भावना कायमै रहेकाे बताउनुभयाे ।
'आजपनि बाघले मान्छेको शिकार गर्न झम्टिएझैँ, बकुल्लाले माछा, बिरालोले दूध ढुकेझैँ अहिले पनि नेपालको संवैधानिक व्यवस्थामाथि च्यात्न, ध्वस्त गर्न नेपालका पूर्व प्रधानमन्त्री नाम सबैलाई थाहै छ, उहाँले ढुकेर बसिरहनुभएको छ, यस्ता व्यक्ति संसद्मा जबर्जस्ती भयो भने नेपालको संविधान च्यातिन सक्छ, कानूनी राज्य समाप्त हुनसक्छ'-चाैधरीकाे आराेप छ ।
प्रतिनिधि सभा विघटन गरेको कुरालाई सत्य सावित गर्न झुटको खेती गर्ने काम भइरहेकाे आराेप उहाँले लगाउनुभयाे । एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै चाैधरीले प्रतिनिधि सभा विघटन गर्न सक्ने खतरा रहेकाे बताउनुभयाे ।
आफूलाई मन लागेको कानुन मन लागेको दिनमा राष्ट्रपतिसँग सेटिङ मिलाएर गर्ने काम भइरहेकाे उहाँले आराेप लगाउनुभयाे । 'यसलाई ताजा जनादेशको रुपमा डिफाइन्स समेत गरिरहेका छौँ, यसलाई सत्य सावित गर्न झुटको खेती गरिरहेका छौँ, तर्क गरिरहेका छौँ, यस्ता कुतर्क गर्नेलाई नेपालको संविधानअनुसार राम्रोसँग कोचिङ क्लासको व्यवस्था गरेर सिकाउनुपर्छ, सम्भवतः प्रतिनिधि सभामा कोचिङ क्लासका लागि बजेटको व्यवस्था छैन होला, यदि, व्यवस्था छैन भने मैले प्राप्त गर्ने सेवा सुविधा काटेर जो जो यो डेफिनेसन, तर्क, लजिक, बेठिक कुतर्क गरिरहेको छ, त्यस्ता व्यक्तिलाई कक्षामा राखेर राम्रोसँग पढाउनका लागि म अनुरोध गर्न चाहन्छु'- चाैधरीले भन्नुभयाे ।
पूर्व प्रधानमन्त्रीहरु नै सिस्टम मिलाएर अर्बौं भ्रष्टाचारहरु गर्न लागिपरेकाे आराेप पनि उहाँले लगाउनुभयाे ।
