काठमाडाैं । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले पदीय जिम्मेवारीलाई इमान्दारीसाथ निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।
उपसभामुखमा निर्वाचित भएलगत्तै संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रानाले सत्तापक्ष र प्रतिपक्षी सबैलाई साथमा लिएर सदनमा तटस्थ भूमिका निर्वाह गर्ने बताउनुभयाे ।
सभामुख देवराज घिमिरेसँग मिलेर काम गर्ने र संविधानको मर्म अनुसार अघि बढ्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयाे । 'नेपालकाे संविधानले व्यवस्था गरेकाे भूमिकालाई इमान्दारीतासाथ निभाउनेछु, तटस्थ भूमिका निर्वाह गर्नेछु, सभामुखज्यूसँग सहकार्य गरेर उहाँलाई सहजीकरण गर्नेछु, सदनलाई प्रभावकारी ,मर्यादित र सुसंस्कृत गराउनेछु'- उपसभामुख रानाले भन्नुभयाे ।
आफूलाई सहकर्मी सांसद्ले आमा भन्ने गरेकाे सुनाउँदै उहाँले भन्नुभयाे - 'सर्वदलीय टिममा म एउटा आमा बनेको छु, सबै माननीयहरुले मलाई आमा भन्नुहुन्छ, सबैको पक्षमा म तटस्थ भएर बस्नेछु ।'
बाहिर हल्ला गरेभन्दा उपसभामुखकाे भूमिका र उपसभामुखले गर्ने काम धेरै रहेकाे कुरा आफूले बुझेकाे रानाले बताउनुभयाे । संविधानले दिएकाे अधिकार पालना गर्दै अविचलित भएर काम गर्ने प्रतिबद्धता पनि उपसभामुख रानाले प्रतिबद्धता जनाउनुभयाे ।
प्रतिनिधि सभामा भएको मतदानमा १ सय ६६ मत ल्याएर राना उपसभामुखमा निर्वाचित हुनुभएको हो ।
