काठमाडाैं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलकाे मान्यता पाएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई संघीय संसद् सचिवालयले प्रमुख प्रतिपक्षीको मान्यता दिएको हाे ।
प्रमुख विपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै कांग्रेसले पुस २९ गते निवेदन दिएको थियो । संसद् सचिवालयले कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिइएकाे आशयकाे पत्र माघ ४ गते नै पठाएको छ । साे पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई विपक्षी दलकाे नेता भनेर लेखिएकाे छ ।
'प्रस्तुत विषयमा तहाँ दलको कार्यालयको पत्र संख्या ०७९-०८० च.नं. ४५ मिति ०७९-०९-२९ को पत्रबाट प्रतिनिधि सभामा विपक्षी दलको नेता माननीय श्री शेरबहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भइ आएको सन्दर्भमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरु र अनुसूची-१ तथा अनुसूची-२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ'- पत्रमा लेखिएकाे छ ।
पुस २६ गते प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत लिँदा कांग्रेसले पनि पक्षमा मत दिएकाे थियाे । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमाेर्चाका चित्रबहादुर केसीबाहेक अरु सबै दलले प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएका थिए ।
प्रमुख प्रतिपक्षी भएर पनि सरकारलाई विश्वासकाे मत दिएकाे भन्दै नेमकिपा सांसद् सुवालले बैठककाे सुरुदेखि नै आफ्नाे दललाई प्रमुख प्रतिपक्षीकाे मान्यता दिन माग गर्दै आउनुभएकाे थियाे ।
संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐनअनुसार प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलका नेताले विशिष्टिकृत सुविधा पाउँछन् ।
