काठमाडाैं । नेकपा एमालेका सांसद् रघुवीर महासेठले लक्ष्मी महताेलाई अपराधी करार गरिएकाे भन्दै कडा आपत्ति जनाउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् महताेले लक्ष्मी महताेबारे अहिले नै धारणा नबनाउन सबैकाे ध्यानाकर्षण गराउनुभयाे । लक्ष्मी महताेलाई अपराधी भन्नेहरुले नै उहाँले समाजसेवा गरेवापत पदकले सम्मान गरेका उहाँले स्मरण गराउनुभयाे ।
सांसद् महासेठले भन्नुभयाे - 'लक्ष्मी महताे अपराधी नै हुन् त ? यदि अपराधी नै हुन भने शेरबहादुर देउवा नेतृत्वकाे सरकारले देशकाे सम्मानित र प्रतिष्ठित पदकबाट उहाँलाई दिने काम किन गर्नुभयाे ? त्याे बेला अपराधी हेर्नुभयाे ? लक्ष्मी महताेकाे मुद्दा आजकाे हाेइन, ७ वर्ष भन्दा बढी भइसक्याे, पहिलाका सरकारहरुले किन समात्ने काम गरेनन् ?समात्न त परै जाहाेस् उहाँलाई त सम्मान गर्ने काम भएकाे थियाे ।'
लक्ष्मी महताेमाथि लगाइएकाे अपराधी शब्द फिर्ता लिन समेत उहाँले गम्भीर ध्यानाकर्षण गराउनुभयाे । लक्ष्मी महताे अपराधी भए पक्राउ गरेर कानुनी कारबाही गर्न र हाेइन भने जथाभावी नबाेल्न सांसद् महासेठले चेतावनी दिनुभयाे । लक्ष्मी महताे अहिले पार्टीकाे सम्पर्कमा नरहेकाे भन्दै उहाँले महताेबारे सत्यतथ्य सार्वजनिक गर्न गृह मन्त्रालयकाे ध्यानाकर्षण गराउनुभयाे ।
सांसद् महासेठले भन्नुभयाे - 'उहाँकाे पार्टीकाे सम्पर्कमा हुनुहुन्न, हिरासतमा लिएकाे छ भने सार्वजनिक गर्नुपर्याे, लिएकाे छैन भने एमाले र एमालेमाथि लगाइएकाे आराेपममा कुनै सत्यता छैन, कानुन अनुसार कारबाही गर्नुपर्ने छ भने समात्नुस्, एमालेबाट बाधाआउने छैन, तर अदालतले समेत लक्ष्मी महताेमाथि दाेषी करार गरेकाे छैन, शंकाकाे घेरामा राखेकाे छ, यस्ताे अवस्थामा जथाभावी बाेल्न पाइँदैन ।'
यसअघि वीपीलाई अनेक आराेप लगाउने, गिरीजामाथि देशद्राेहीसम्मकाे मुद्दा लगाउने काम भएकाे र देउवादेखि, पुष्पकमल दाहाल प्रचण्ड,केपी शर्मा ओली, शेरबहादुर देउवा,माधवकुमार नेपाल लगायतले पनि अनेक आराेपमा जेल बस्नुभएकाे स्मरण गराउनुभयाे । सांसद् महासेठले भन्नुभयाे - 'गिरीराजबाबुलाई देशद्राेहीकाे मुद्दा लगाएकाे थिएन र ? देउवा देउवा जेल जानु भएकाे छैन र ? माधवकुमार नेपाल जी जेल जानुभएकाे छैन र ? सम्मानीय प्रधानमन्त्रीमाथि मुद्दा लगाइएकाे थिएन र ? टाउकाे मूल्य ताेकेकै व्यक्तिसँग मिलेर सरकार बनेकाे हाेइन र ?, केपी ओली १४ वर्ष जेल बस्नुभएकाे थिएन र ?,राजनीति हाे यसमा जे पनि सम्भव हुन्छ,लक्ष्मी महताे भाेलि देशकाे प्रधानमन्त्री र मन्त्री हुन सक्नुहुन्छ ।'
लक्ष्मी महताेमाथि लगाइएकाे आराेप अनुसारकाे मान्छे उहाँ भएकाे भए ्सत्ता गठबन्धन विरुद्ध एक्लै लडेर चुनाव जित्न नसक्ने पनि उहाँले बताउनुभयाे ।
