काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशका पछिल्ला घटनाक्रमबारे आफू गम्भीर रहेकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् समेत रहनुभएका मन्त्री लामिछानेले क्रसर उद्याेग, फरार सांसद् (लक्ष्मी महतो कोइरी) र आन्दोलनरत अधिकारकर्मीहरूकाे विषयमा मन्त्रालयले गम्भीर रुपमा काम गरिरहेकाे बताउनुभयाे ।
ती विषय केही दिनभित्र सम्बोधन प्रतिबद्धता जनाउँदै उहाँले भन्नुभयाे - 'क्रसरको विषयमा होस्, फरार सांसद्को विषयमा होस्, चाहे आन्दोलनरत अधिकारकर्मीको विषयमा, गृह मन्त्रालय अत्यन्त गम्भीर भएर काम गरिरहेको छ, नतिजामा ढिलाइ किन भइरहेको भने राज्यका संयन्त्रलाई चलाइएको छ, त्यसलाई ट्रयाकभन्दा बाहिर राखिएको छ ।'
गृह मन्त्रालय प्रणालीगत सुधार र मापदण्ड निर्माणमा लागिरहेकाे भन्दै गृहमन्त्री लामिछानेले राज्यका अंगलाई थिलाेथिलाे बनाएर राखिएकाले काम गर्न अप्ठेराे भएकाे बताउनुभयाे । 'राज्यका अंगलाई थिलाेथिलाे बनाएर राखिएकाे छ, काम गर्ने अंगलाई आदेशपालक बनाएर राखिएकाे छ, कामका माध्यमबाट, रिजल्टका माध्यमबाट, यही सदनमार्फत जवाफ आउन भन्ने म चाहान्छु, खासगरी गृह मन्त्रालय प्रणालीगत सुधारमा, मापदण्ड निर्माणमा लागिरहेकाे छ, यति भन्छु, समग्र विषयलाई अब चलाउनछाडिदिनुस् आधा काम सजिलाे हुन्छ, सबै हाम्राे मान्छे हुन् राज्यका मान्छे हुन्'-उहाँले भन्नुभयाे ।
प्रतिनिधि सभालाई विषय केन्द्रित बनाउनुपर्ने र नेपाली जनताकाे हितमा सदनमा बहस हुनुपर्ने गृहमन्त्री लामिछानेले बताउनुभयाे । 'हाम्रा बहस विषय केन्द्रित बनाउन जरुरी छ, हामी आराेप प्रत्याराेप मात्र गर्याैं भने आम नागरिकले पनि संसद् र सांसद्का कुरा सुन्ने छैनन्, हिजाेका आराेप र गनगन अब सुन्नुछैन, नेपाली जनताकाे हित र वहसमा केन्द्रित हुनुपर्नेछ याे गरिमामय सदन ।'
