काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको चुनाव माघ २३ गते हुने भएकाे छ ।
शुक्रबार बसेकाे राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साे जानकारी दिनुभएकाे हाे । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्षको चुनावका लागि माघ २३ गते साेमबार बिहान ११ बजेर ५९ मिनेटकाे समय ताेकिएकाे उहाँले बताउनुभयाे ।
राष्ट्रिय सभा उपाध्यक्षको चुनावसम्बन्धी निर्वाचन कार्यक्रम सार्वजनिक गर्न राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले संघीय संसद् सचिवालयलाई निर्देशन पनि दिनुभयाे ।
राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल ०७८ फागुन २० गते सकिएको थियो । त्यसपछि साे पद रिक्त थियाे । पद रिक्त भएकाे करिब १ वर्षपछि चुनाव हुन लागेकाे हाे ।
