काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सदनलाई प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएकाे छ ।
संसदीय मामिलाकाे रिर्पोटिङ गर्ने पत्रकारसँग साेमबार भएकाे परिचयात्मक कार्यक्रममा सभामुख घिमिरेले प्रतिनिधि सभालाई सही ढंगले अगाडि बढाउन आफूले कुनै कसर बाँकी नराख्ने बताउनुभयाे । कसैकाे पक्ष र विपक्षमा नलागी तटस्थ रुपमा काम गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयाे ।
उहाँले संसद्को भूमिका समाजलाई अग्रगति दिने उद्देश्य पूरा गर्ने भएकाले यसमा सञ्चार जगत लगायत सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयाे । सभामुख घिमिरेले विभिन्न ऐन निर्माण गर्ने विधेयकमा छलफल वा नयाँ केही निर्णय गर्ने विषयमा आफू समझदारीमा नै अघि बढ्ने स्पष्ट पार्नुभयाे । यसअघि गरिएका सही प्रयत्नलाई आत्मसाथ गर्दै अघि बढ्ने पनि बताउनुभयाे ।
सभामुख घिमिरेले संसद्काे रिपाेर्टिङ गर्ने पत्रकारका अप्ठ्यारालाई सही ढंगले सम्बाेधन गरिने बताउनुभयाे । संसद्लाई प्रभावकारी बनाउनका लागि पत्रकार र सञ्चारमाध्यमको भूमिका पनि महत्वपूर्ण हुने भन्दै उहाँले पत्रकारलाई आफ्नाे पूर्ण सहयाेग रहने बताउनुभयाे ।
सुरुमै धेरै नकारात्मक कुरा नगर्न पत्रकारलाई आग्रह गर्दै सभामुख घिमिरेले विगतबाट सिकेर संसदीय रिपोर्टिङ गर्न सहज पार्ने प्रतिबद्धता जनाउनुभयाे । उहाँले सम्भव भएसम्म पत्रकारसँग बेला-बेलामा अन्तर्क्रिया गर्ने प्रतिबद्धता पनि बताउनुभयाे ।
भेटमा सहभागी पत्रकारले विशेष राजनीतिक परिस्थितिमा पत्रकारसँग दूरी नबढाउन, संसदीय रिपोर्टिङमा पत्रकार र फोटो पत्रकारलाई बिना रोकटोक सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण मिलाउन, सूचना प्रवाहमा पूर्ण सहयाेग गर्न सभामुखसँग आग्रह गरेका थिए । सभामुख घिमिरेले सम्भव भएसम्म पत्रकारलाई गुनासाे गर्ने अवस्था नै नदिनेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभयाे ।
सुवास नेम्वाङकाे पालामा पत्रकारलाई रिपाेर्टिङ गर्न सहज अवस्था रहेकाे भन्दै केही पत्रकारले घिमिरेकाे कार्यकालमा अझ सहज हुने विश्वास समेत व्यक्त गरेका थिए ।
