काठमाडौं । प्रतिनिधि सभामा बाँदर आतंकबारे आवाज उठेको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा एमाले सांसद् ईश्वर बहादुर रिजालले दोलखा जिल्लामा बाँदरको प्रकोप बढेर मानिसले बसाइँ सर्नु पर्ने बाध्यता आइपरेको बताउनु भएकाे हाे ।
बैठकको शून्य समयमा बोल्दै उहाँले भन्नुभयो– ‘अहिले बाँदरको प्रकोप बढेको छ । मान्छेले कमाइ खेती छाडेर हिडेका छन् । बसाइँ सर्न थालेका छन् ।’
पृथ्वीमा चेतनशील प्राणि मानिस भए पनि बाँदरको साम्राज्य बढेको उहाँकाे भनाइ थियाे ।
‘पृथ्वीको यो महत्व छ कि पृथ्वीमा जिव छ र सँगसँगै चेतनशील प्राणि मानव पनि छ’ उहाँले भन्नुभयो– ‘तर अहिले बाँदरको साम्राज्य बढेको छ । हामी कृषिमा आत्मनिर्भर हुने कुरा गर्छौं तर अहिले बाँदरले उठिबास लगाएको छ ।’
बाँदर आतंकको समाधानका लागि उहाँले अध्ययन टोली बनाउँन र बालि बिमाको सुनिश्चित गर्न सदनमा माग गर्नु भएको छ ।
‘अब एउटा अध्ययन टोली बनाइयोस र संविधानको भाग ३ को ३६ खाद्य अधिकारको सुरक्षाका निम्ति बाली बिमाको सुनिश्चित गरियोस्’ उहाँले भन्नुभयो ।
