काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् शक्ति बस्नेतले राष्ट्रिय सहमति अहिलेको आवश्यकता भएको बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् बस्नेतले देशमा देखा परेका चुनाैतीलाई सम्बाेधन गर्न राष्ट्रिय सहमति आवश्यक रहेकाे बताउनुभयाे ।
राष्ट्रपति पदमा राष्ट्रिय सहमति खाेज्रे कुरा माओवादीभित्र उठिरहेका बेला सांसद् बस्नेतले राष्ट्रिय सहमतिबाट नै देशलाई अघि बढाउन सकिने बताउनुभयाे । 'मुलुकसामु हामीले जुन राजनीतिक चुनाैती, आर्थिक चुनाैती, सुशासनका चुनाैतीकाे कुरा गरिराखेका छाैं, राष्ट्रिय हितकाे सम्बर्द्धन र प्रबर्द्धन गर्ने कुरा गरिराखेका छाैं, यी सबै विषयलाई सम्बाेधन गर्नका लागि राष्ट्रिय सहमति आजकाे अपरिहार्यता बन्न पुगेकाे छ,आवश्यकता बन्न पुगेकाे छ'-उहाँले भन्नुभयाे ।
राष्ट्रिय सहमति व्यवहारिक सम्भावनकाे रुपमा पनि प्रकट भएकाे सांसद् बस्नेतले सरकारलाई २ सय ६८ जना सांसद्बाट विश्वासकाे मत प्राप्त हुनु राष्ट्रिय आवश्यकताकाे बलियाे आधार भएकाे बताउनुभयाे । 'अहिले यसलाई हाइज्याक भएको गठबन्धनलाई फिर्ता गरिएकाे अर्थमा बुझ्नु र व्याख्या गर्नहुँदैन, समर्थन र सहमति किन गरेकाे भनेर अनावश्यक आशंका गर्नु उपयुक्त हुँदैन यसलाई हामीले राष्ट्रिय आवश्यकताको रुपमा बुझ्नुपर्छ, स्वीकार्नुपर्छ'-उहाँले भन्नुभयाे ।
राष्ट्रिय सहमतिकाे आधारलाई अझ सुदृढ बनाएर अगाडि बढाउन जरुरी रहेकाे सांसद् बस्नेतले बताउनुभयाे । मुलुकमा व्यवस्था बदलिएपनि अवस्था अझै बदलिन नसकेकाे भन्ने कुरा उठेकाे भन्दै उहाँले व्यवस्था समस्या नभएर व्यवस्था अनुसारकाे विधिमा नचल्नु समस्या भएकाे बताउनुभयाे ।
राजधानीमा बसेर संघीयताकाे महत्व बुझ्न नसकिने भन्दै सांसद् बस्नेतले संघीयता बुझ्न कर्णाली र सुदूरपश्चिम जानुपर्ने बताउनुभयाे । संघीयताकाे प्रभावकारी कार्यान्वयनका लागि पहल गर्नुपर्ने समेत उहाँले बताउनुभयाे । समस्या कार्यान्वयन र साेचमा रहेकाे सांसद् बस्नेतकाे भनाइ छ ।
