काठमाडाैं । सांसद् मनिष झाले मधेशकाे परिचय फेरिएपनि अस्तित्व कमजाेर हुँदै गएकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् झाले विभिन्न गाैरवगाथा र सभ्यताकाे इतिहास बाेकेकाे मधेशका महत्वपूर्ण संरचनाकाे संरक्षण हुन नसकेकाे बताउनुभयाे ।
'जब परिचय फेरिन्छ, तब अस्तित्वहरु कमजाेर हुन्छ, अहिले मधेशकाे पनि परिचय फेरिन थालेकाे छ र साथसाथै अस्तित्व पनि कमजाेर हुन थालेकाे छ'-उहाँले बताउनुभयाे । अध्यात्मकाे राजधानीका रुपमा परिचित मधेसकाे प्राचिन इतिहास गाैरव गर्न लायक भएनपनि प्राचिन संरचना र इतिहास संरक्षण हुन नसकेकाे झाले बताउनुभयाे ।
मधेशमा रहेका संस्कृति, सभ्यता र संरचनाकाे संरक्षण नहुनु दु:खद भएकाे सांसद् झाले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'सप्तरीकाे छिन्नमस्ताकाे धार्मिक इतिहास, सलेस र दिनाभद्रीकाे सामाजिक नेतृत्वकाे गाथा,महाेत्तरीकाे राैजामय बजार र मटिहानी मठ, राैतहटकाे लडैया सहनपुर गढी जसले ब्रिटिस सामार्ज्यसँग लडेकाे गाैरवपूर्ण इतिहास बाेकेकाे छ,सर्लाहीकाे मुर्तियामा भेटिने मूर्तिहरु, धनुषाधाम,जनकपुरधाम र सिम्राैनगढ यी सबले आवश्यक संरक्षण नपाएकाे देखिन्छ ।'
संरक्षण र साैन्दर्यकरणकाे नाममा दशकाैंकाे महत्व बाेकेकाे ढुंगा हटाएर आधुनिक कमसल मार्बल लगाउने काम भएकाे भन्दै सांसद् झाले यस्ता क्रियाकलाप राेकिनुपर्ने बताउनुभयाे । जानकी मन्दिरमा ढुंगा हटाएर मार्बल लगाउँदा र बिजुली जाेड्दा कराैडाैं भ्रष्टाचार भएकाे समेत सांसद् झाले बताउनुभयाे । आधुनिकताका नाममा भइरहेका मानवीय गतिविधिले संस्कृति, सभ्यता र संरचनालाई झन् कमजाेर बनाएकाे उहाँले बताउनुभयाे ।
