काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद् राजकिशोर यादवले आत्मदाह गरेका उद्यमी प्रेम आचार्यकाे कुरा सदनमा उठाउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभाकाे बैठककाे विशेय समयमा बाेल्दै सांसद् यादवले प्रेम आचार्यप्रति कसैले चिन्ता नगर्नु दु:खद विषय भएकाे बताउनुभयाे । सप्तरीका रामदेव मरिकको आत्महत्याबारे पनि कुरा नउठ्नु दु:खद भएकाे उहाँले बताउनुभयाे ।
प्रतिनिधि सभाकाे बैठकमा विशेष प्रस्ताव आउने अपेक्षा गरेपनि त्यसाे हुन नसकेकाे भन्दै सांसद् यादवले आपत्ति जनाउनुभयाे । 'मलाई लाग्थ्यो, आज यो सदनभित्र विशेष प्रस्ताव आउला, के कति कारणले प्रेम आचार्यले आत्मदाह गर्न बाध्य भए, त्यसको बारेमा चर्चा होला, तर आज यो सदन मुर्दाको रुपमा स्थापित भएको छ, प्रेम आचार्यको बारेमा कसैको चिन्ता भएन, चासो भएन, हामी चाहिँ अर्कै गाथा र अर्कै गीत गाइरहेका छाैं'- उहाँले भन्नुभयाे ।
ऋण तिर्न नसक्दा आत्महत्या गरेका मरिकबारे चर्चा हुन नसक्नु पनि दु:खद रहेकाे भन्दै उहाँले यस्ताे गम्भीर विषयमा सरकारकाे ध्यान नगएकाे बताउनुभयाे । 'सप्तरी निवासी सामाजिक रुपमा पिँधमा रहेको, दलितको पनि महादलित रामदेव मरिक छोरोको बिहेमा लिएको ऋण तिर्न नसक्दा आफ्नो नाक जोगाउनका लागि, आफ्नो इज्जत जोगाउनका लागि आत्महत्या गर्छ, हामी यहाँ ठूलाठूला गफ गर्छौं, तर रामदेव मरिकको बारेमा चर्चा गर्ने हामीमा संवेदनशीलता र जिम्मेवारीपना देखिएन'- सांसद् यादवले भन्नुभयाे ।
याे सरकार सदन र व्यवस्थाले नाक बचाउन गाह्राे रहेकाे समेत उहाँले बताउनुभयाे ।
अनागरिककाे पीडा कस्ताे हुने रहेछ भन्ने कुरा निर्वतमान गृहमन्त्री रवि लामिछानेलाई वाेध भएकाे बताउनुभयाे । आज देशमा हजाराैं नागरिक अनागरिक अवस्थामा रहेका भन्दै सांसद् यादवले नागरिकताबिहीन नेपाली नागरिकलाई नागरिकता दिन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'हजाराैं नागरिक किन अनागरिक भए ? २-२ पटक विधेयक आउँदा पनि किन राेकियाे ? यसकाे जवाफ चाहियाे'-उहाँकाे माग छ ।
सरकारका मन्त्रीले शपथ खाएर संविधान विपरित बाेल्नु संविधानकै बर्खिलाप हुनेगरी बाेल्नु भ्रष्टाचार भएकाे उहाँले बताउनुभयाे । संविधान नमान्ने मन्त्रीलाई बर्खास्त गर्नुपर्ने माग समेत उहाँले बताउनुभयाे । लाखाैं लाख जनताकाे बलिदानबाट संघीय गणतन्त्र र संघीयता आएकाे भन्दै उहाँले यस्तै अभिव्यक्ति आए सदन घेर्न वाध्य हुने चेतावनी पनि उहाँले दिनुभयाे ।
