काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् धवलशमशेर जबराले आफूहरुलाई होच्याउने काम नगर्न चेतावनी दिनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभाकाे विशेष समयमा बाेल्दै सांसद् जबराले जनताले मत दिएर नै आफूहरु सदनमा आएकाे बताउनुभयाे । संविधानलाई मानेपनि राप्रपा आफ्ना एजेण्डामा कायमै रहने उहाँले बताउनुभयाे ।
'राप्रपा सानाे हाेला, तर हामी नेपाली जनतामा भिजेका छाैं, हामी नेपालमा फेरि सनातम धर्म हिन्दू राष्ट्र कायम गर्न आएका छाैं,राजसहितकाे प्रजातन्त्रलाई स्थापति गर्न आएका छाैं र त्याे कुरालाई संविधानले राेक्दैन,संविधान अपरिवर्तनीय हाेइन,हामीले बाेल्न पाउनुपर्छ, बाेल्छाैं र समयमा कार्यान्वयन गर्छाैं,यसकाे मतलब हामीले संविधानलाई, व्यवस्था मान्दैनाैं भन्ने हाेइन'- जबराले भन्नुभयाे ।
संविधान र व्यवस्था नमान्ने भएका भए आफूहरु जंगल जाने र बन्दुक उठाएकाे हुने उहाँले बताउनुभयाे । 'यही व्यवस्था र संविधानभित्र रहेर हामी यहाँ आएका छौं, हामीलाई हेप्ने काम र हाेच्याउने काम याे सदनबाट फेरि नहाेस्'- जबराले भन्नुभयाे ।
देशकाे प्रगति र उन्नतिका लागि सबै अगाडि बढ्नुपर्ने भन्दै उहाँले उद्याेग व्यवसायका लागि उचित वातावरण बनाउनुपर्ने बताउनुभयाे । राष्ट्रिय गाैरव आयाेजना अलपत्र परिरहेका भन्दै सांसद् जबराले ती आयाेजना तत्काल अगाडि बढाइनुपर्ने बताउनुभयाे ।
वास्तविक सुकुम्बासी पहिचान गरेर जग्गाधनी पूर्जा दिँदै समस्या समाधान गर्न र सुकुम्बासी आयाेगलाई राजनीतिक कार्यकर्ता पाल्ने थलाे नबनाउन आग्रह गर्नुभयाे । शिक्षा प्रणाली र कर्मचारीतन्त्रलाई राजनीतिबाट पर राख्न समेत उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
