काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद् पद रिक्त रहेको विषय सदनलाई जानकारी गराइएको छ ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतको फैसलासँगै लामिछानेको सांसद् पद रिक्त रहेको जानकारी गराउनुभएकाे हाे ।
उहाँले भन्नुभयाे - 'नेपालकाे संविधाकाे धारा ८९ काे खण्ड (ख) बमाेजिम रवि लामिछानेकाे प्रतिनिधि सभा सदस्यकाे पद एक रिक्त भएकाे ब्यहाेरा प्रतिनिधि सभा नियमावली २०७५ काे नियम २ सय १२ काे (१) बमाेजिम माननीय सदस्यहरुलाई जानकारी गराउँछु ।'
माघ १३ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता सम्बन्धी मुद्दामा दाेषी ठहर गर्दै लामिछानेको सांसद् पद खारेज हुने फैसला गरेको थियो । लामिछानेले अमेरिकी नागरिकता त्यागेपनि कानुनबमोजिम निष्कृय भएको पुरानै नागरिकता प्रयोग गरेकाले उहाँ नेपाली नागरिक नरहेकाे सर्वाेच्चकाे फैसला थियाे ।
लामिछानेले माघ १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडाैंमा गएर नेपाली नागरिकताकाे प्रमाणपत्र लिनुभएकाे थियाे ।
मंसिर ४ गते सम्पन्न चुनावमा लामिछाने चितवन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे । लामिछानेकाे सांसद् पद खारेज भएसँगै साे क्षेत्रमा अब उपचुनाव हुनेछ ।
