काठमाडौं । सांसद् एकनाथ ढकालले संक्रमणकालीन न्याय सम्बन्धी काम चाँडै टुंग्याउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् ढकालले २०६३ मंसिर ५ मा तत्कालीन सरकार र नेकपा माओवादीबीच भएकाे विस्तृत शान्ति सम्झौता सक्कल प्रति सार्वजनिक गर्न समेत माग गर्नुभयाे ।
साे सम्झौता अुनसार बाँकी रहेको संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउनुपर्ने उहाँले बताउनुभयाे । '२०६३ मंसिर ५ गते तत्कालीन नेपाल सरकार र नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौतमा हस्ताक्षर भएर शान्ति प्रकृयाले विभिन्न चरण पार गर्दै संविधानसभामार्फत नेपालको संविधान जारी भई दुईवटा आम निर्वाचन भइसक्यो, विस्तृत शान्ति सम्झौताको सक्कल प्रति को र कहाँ छ ? शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता अहिले नेपालकाे तेस्राे पटक प्रधानमन्त्री हुनुहुन्छ, तर अझै पनि शान्ति सम्झौताको महत्त्वपूर्ण पक्ष संक्रमणकालीन न्याय सम्बन्धी खासै प्रगति हुन सकेको छैन'-ढकालले भन्नुभयाे ।
सत्यनिरुपण तथा मेलमिलाप आयाेग र वेपत्ता पारिएका व्यक्तिकाे छानबिन आयाेगले पीडितहरुबाट ६० हजार भन्दा धेरै उजुरी प्राप्त गरेकाे भएपनि हालसम्म एउटा अनुसन्धान गर्न नसकेकाे बताउनुभयाे ।
शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम पूरा गर्ने विषय सरकारकाे न्यूनतम साझा कार्यक्रममा पनि उल्लेख भएकाे भन्दै उहाँले ती विषयलाई उच्च प्राथमिक दिएर काम गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
