काठमाडाैं । एकीकृत समाजवादीका सांसद् प्रकाश ज्वालाले प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनाबारे छानबिन गर्न न्यायिक आयोग गठन गर्न माग गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् ज्वालाले प्रेम आचार्य जस्ता युवाहरुकाे आत्महत्याबारे छानबिन गर्न न्यायिक आयाेग गठन गर्नुपर्ने बताउनुभयाे ।
देशकाे अर्थतन्त्रमा अत्यन्त ठूलाे संकट देखा परेकाे र साे संकटकाे प्रत्यक्ष मार गरिब र विपन्नले खेपीरहेकाे बताउनुभयाे । यसकाे उदाहरण प्रेमप्रसाद आचार्य र मिठ्ठु विश्वकर्माहरुकाे आत्महत्या हाे, आफूले उत्पादन गरेकाे वस्तु बिक्री नहुने, बिक्री भइसकेपछि पनि मूल्य नपाउने जस्ता समस्या उजागर गर्दै संसद्काे मूल गेटमा प्रेम आचार्यले आत्मदाह गरेका छन् भने आर्थिक अभाव र हातमुख जाेर्ने समस्याका दुर्गम गाउँमा मिठ्ठु विश्वकर्माहरुले जीवन त्यागेका छन् ।'
प्रेमप्रसादले उठाएका सवाल र मिठ्ठुहरुका आर्थिक अभावप्रति सरकार गम्भीर बन्नुपर्ने भन्दै उहाँले प्रेमप्रसादले उठाएका मुद्दा समाधानमा ध्यान दिन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'यस्ता घटनाहरुकाे छानबिन गर्न न्यायिक आयाेग गठन गरियाेस् भन्ने माग गर्दछु'- ज्वालाले भन्नुभयाे ।
भ्रष्टाचारकाे जालाे ताेड्न, कालाेबजारी राेक्न, दैनिक उपभाेग्य वस्तुकाे भाउ घटाउन र किसानका समस्या समाधान गर्न उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । एकीकृत समाजवादीले देशकाे अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायसहित सरकारलाई ज्ञापनपत्र बुझाएकाे स्मरण गराउँदै सांसद् ज्वालाले ती विषयलाई सम्बाेधन गर्न माग गर्नुभयाे । सार्वजनिक खरिद एेनलाई तत्काल संशाेधन गर्न समेत उहाँले माग गर्नुभयाे ।
प्रतिनिधि सभाकाे विशेष समयमा बाेल्दै सांसद् अनितादेवीले प्रेम आचार्य र रामदेव मरिकलाई न्याय दिनुपर्ने बताउनुभयाे । उहाँले नेपाली नागरिकलाई नागरिकता दिन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
नागरिक उन्मुक्ति पार्टीकी सांसद् रञ्जिता श्रेष्ठले देशकाे आर्थिक अवस्थाका कारण प्रेम आचार्य जस्तै आत्मदाह गर्ने अवस्थामा युवाहरु रहेका भन्दै सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
विशेष समयमा बाेल्दै जसपाका सांसद् राजकिशोर यादवले आचार्यको आत्मदाह रामदेव मरिककाे आत्महत्याकाे विषयमा प्रतिनिधि सभामा विशेष प्रस्ताव नआउनु दुःखद भएकाे बताउनुभयाे ।
प्रतिनिधि सभाकाे शून्य समयमा बाेल्दै नेपाली कांग्रेसकी सांसद् ईश्वरीदेवी न्याैपानेले पनि प्रेमप्रसादकाे आत्मदाह दु:खद मात्र नभएर राज्यलाई नै चुनाैती भएकाे बताउनुभयाे । सांसद् न्याैपानेले साे विषयमा संवेदशील हुन सरकारकाे गम्भीर ध्यानाकर्षण गराउनुभयाे ।
माघ १० गते संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको माघ ११ गते उपचारका क्रममा निधन भएकाे थियाे ।
