काठमाडाैं । नेकपा एमालेका सांसद् रघुवीर महासेठले अहिलेकाे सत्ता गठबन्धनमा कुनै समस्या नआउने बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् महासेठले गठबन्धन तलमाथि नहुने बताउनुभयाे ।
गठबन्धनमा ७ वटा दल भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि बढी जिम्मेवारी रहेकाे उहाँले बताउनुभयाे । 'गठबन्धनमा सम्माननीय प्रधानमन्त्रीज्यू र हाम्रा पार्टी अध्यक्षमाथि बढी जिम्मेवारी छ,त्यसकारण गठबन्धनमा कुनै पनि प्रकारकाे तलमाथि हुँदैन तपाइँहरु ढुक्क हुनुस्'-सांसद् महासेठले भन्नुभयाे ।
गठबन्धनमा फरक विचार आउनु स्वभाविक रहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'गठबन्धनमा कुनैपनि संकट तुरुन्तै आउँछ जस्ताे लाग्दैन,गठबन्धन भनेकाे यस्तै हाे, एक विचारका मानिसहरु गठबन्धनमा हुनुहुन्न, गठबन्धनमा ७ दल हुनुहुन्छ, सबैले आ-आफ्नाे पार्टीबाट भएका निर्णय गठबन्धनभित्र राख्ने भयाे, गठबन्धनकाे काम सबैलाई मिलाएर लैजाने हाे ।'
सांसद् महासेठले गृह मन्त्रालयबारे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई भएकाले प्रधानमन्त्रीले नै छलफल गरेर भागबण्डा गर्नुहुने बताउनुभयो । राष्ट्रपतिमा एमालेको दाबी स्वभाविक रहेको पनि उहाँले प्रष्ट पार्नुभयाे ।
