काठमाडाैं । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले प्रदेश सभा कार्यव्यवस्था परामर्श समिति गठन गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रदेश सभाकाे दाेस्राे बैठकले १३ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेकाे हाे । कार्यव्यवस्था परामर्श समितिमा सभामुख पदेन अध्यक्ष तथा उपसभामुख र प्रदेश सभा मामिला मन्त्री पदेन सदस्य हुने व्यवस्था छ ।
बैठकमा सभामुख घर्तीले सम्बन्धित दलको सिफारिसमा सदस्यहरुलाई मनाेनित गरिएकाे जानकारी गराउनुभएकाे थियाे । उहाँले तुल्सी चौधरी, रत्नबहादुर खत्री, बसिउद्धिन खाँ, जन्मजय तिमिल्सिना, इन्द्रजित थारु, मिनाकुमारी श्रेष्ठ, राजकुमार चौधरी, अम्बिका काफ्ले, सुमन शर्मा रायमाझी, सन्तोषकुमार पाण्डेलाई कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनयन गरेको जानकारी गराउनुभएकाे थियाे । ती नाम बैठकले स्वीकृत गरेकाे थियाे ।
कार्यव्यवस्था परामर्श समितिमा प्रदेश सभा बैठक बस्नुअघि कार्यसूची र छलफलको विषयमा छलफल गरिन्छ । बैठकमा मुख्यमन्त्री लिला गिरीले प्रदेश महालेखा परीक्षकको वार्षिक प्रतिवेदन ०७८-२०७९ पेस गर्नुभएकाे थियाे ।
त्यसअघि बैठक सुरु भएलगत्तै नागरिक उन्मुक्ति पार्टीका सांसद्ले प्रतिनिधि सभा सदस्य अरुण चौधरीको रिहाइको माग गर्दै उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले नागरिक उन्मुक्ति संसदीय दलका नेता धर्म चौधरीलाई बाेल्न समय दिनुभएकाे थियाे । त्यसपछि सभामुखले १५ मिनेट बैठक स्थगित गर्नुभएकाे थियाे ।
दाेस्राे बैठकमा सभामुख घर्तीले अर्काे बैठक कहिले बस्ने भन्ने जानकारी नदिइ बैठक स्थगित भएकाे घाेषणा गर्नुभएकाे थियाे ।
