काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका निभाउन नसकेकाे बताउनु भएकाे छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै ओलीले संसदमा कांग्रेसका व्यवहारहरु बुझिनसक्नुको रहेको बताउनु भएकाे छ ।
उहाँले एमालेलाई सरकार गठनको मत नपाएकाले रुची नराख्दा पनि कांग्रेसले सरकार गठन नगरेपछि संविधानको रक्षा गर्न हेतु नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा अघि सारेको प्रष्ट पार्नुभयो ।
‘सरकार गठनका लागि बहुमत प्राप्त भएन, हामी त्यो चाहनामा थिएनौँ, तर कांग्रेसमा सत्ता गठनका लागि असाधारण रुची थियो, कांग्रेसको स्वभावअनुसार सामान्य लिएका थियौँ । तर, प्रतिपक्ष मानसिकताका साथ कांग्रेस गठित सरकारको प्रतिक्षा गरिरहँदा संविधानको व्यवस्था बमोजिम निर्धारित समय सकिएपछि हामीले माओवादी केन्द्रका अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन गर्ने कुरा अघि बढायौँ,’ उहाँले भन्नुभयो, ‘नयाँ सरकार गठन भएसँगै जनातामा उत्साह थपिएकाे छ । यस बीचमा संसदमा नेपाली कांग्रेसका व्यवहारहरु बुझिनसक्नुका छन् । कांग्रेसका केही साथीहरुलाई आफ्नो परिचय प्रतिपक्ष भनेर मान्न सकस भएको छ । मन मानिरहेको छैन, तर प्रतिपक्षमा बस्नैपर्ने बाध्यता छ । कांग्रेस यतिबेला पानी बाहिरको माछा जस्तै छट्पटाएको देखिन्छ । सत्ता बाहिर काँग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्कने स्थितिमा देखिन्छ ।’
'कांग्रेस यतिबेला पानी बिनाको माछो झैँ छट्पटाइरहेको छ । ओलीले सत्ता बाहिर कांग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्कने स्थितिमा रहेको छ' ओलीले भन्नुभयाे ।
उहाँले जनताका प्रतिनिधि र राजनीतिक दलका नेताहरु मिलेर दृढ निश्चय र इमान्दारिताका साथ नेपाल र नेपालीको भविष्यका लागि संकल्प गर्न आग्रह गर्नुभयो ।
‘हामी जनताका प्रतिनिधि राजनीतिक दलका नेताहरु मिलेर दृढ निश्चय र इमान्दारिताका साथ नेपाल र नेपालीको भविष्यका लागि संकल्प गरौँ । राजनीतिक अस्थिरताको अन्त्य गरी मुलुकलाई राजनीतिक स्थायित्व नयाँ युगमा प्रवेश गरौँ । म सबै राजनीतिक दल र नेता साथीहरुलाई आग्रह गर्न चाहन्छु' अध्यक्ष ओलीले भन्नुभयो- 'राष्ट्रियता र राष्ट्रिय एकताको सवालमा, सार्वभौमिक सत्ता, अखण्डता, स्वाधिनता, न्यायोचित हीतको सवालमा, समावेशी विकास र सुशासनसहित समृद्धिको सवालमा, अर्थतन्त्रको सबलीकरण, सेवाप्रवाहको व्यापक सुधार ल्याउने सवालमा राष्ट्रिय सहमति गरौँ । एमाले जस्तोसुकै सहयोग गर्न तयार छ । यस्ता कुरामा राष्ट्रिय सहमति हुनुपर्छ ।’
अध्यक्ष ओलीले कांग्रेस आफूलाई प्रतिपक्ष मान्न तयार नै नरहेको बताउनुभयाे ।
अध्यक्ष ओलीले अर्थतन्त्रलाई सरकारले गतिशील बनाउने पनि दाबी गर्दै राष्ट्रिय हीतमा काम गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आग्रह गर्नुभयो ।
