काठमाडाैं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद् उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।
सत्ता गठबन्धनकाे साझा उम्मेदवार अर्यालले आइतबार नयाँ बानेश्वरस्थित संसद् भवन पुगेर उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल हुनुहुन्छ भने खिमलाल देवकोटा समर्थक हुनुहुन्छ ।
राष्ट्रिय सभा उपाध्यक्षका लागि उहाँकाे मात्रै उम्मेदवारी परेकाे छ । नेपाली कांग्रेससहित अरू विपक्षी दलहरूले उम्मेदवारी नदिएपछि अर्याल निर्विराेध निर्वाचित हुनुभएकाे छ । अर्याललाई सत्ता साझेदारसँगै नेपाली कांग्रेसले पनि समर्थन गरेकाे छ ।
राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल ०७८ फागुन २० गते सकिएको थियाे । त्यसपछि साे पद रिक्त थियाे । पद रिक्त भएकाे करिब १ वर्षपछि चुनाव हुन लागेकाे हाे । तर त्यसअगावै अर्याल निर्विराेध चयन हुनुभएकाे छ ।
