काठमाडाैं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले सदनमा उठेका विषय र प्रतिबद्धताप्रति सरकार जवाफदेही बन्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा उहाँले सदनमा बोलका कुराले अर्थ र महत्व राख्छ भन्दै सरकारले यहाँ उठेका विषयलाई सम्बोधन गर्न के कस्ता पाइला चाल्यो भन्ने प्रश्न राख्नुभयो । उहाँले भन्नुभयो, 'लाखौँ मेट्रिक्टन मल आएको जानकारी दिए पनि किसानले पाइरहेको छैन । कालाबजारी र वितरण प्रणाली सुधारमा के काम भयो ? सदनमा हामी बोलि नै रहेका हुन्छौँ । सदनमा उठेको विषयको जवाफ र कारबाही भए नभएकाबारे जानकारी हुनुपर्छ ।' उहाँले नागरिकता प्रदान गर्ने प्रतिबद्धताका विषयमा प्रश्न गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले सदनमा राष्ट्रिय महत्वका विषयमा आवाज उठाउन सबै सदस्यका लागि निश्चित समय तोक्नपर्ने बताउनुभयो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले नेपालको विद्युत् सस्तो मूल्यमा भारतलाई बेच्ने र महँगो मूल्यमा विद्युत् खरिद गर्ने परम्पराको अन्त्य गर्नुपर्ने सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले सूचना लुकाउनेमाथि कारबाही हुनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका ईश्वरी न्यौपानेले नेपाली कांग्रेस नेतृत्वको सरकारले नागरिकलाई समयमै कोरोना विरुद्धको खोप लगाएको तथा समयमै निर्वाचन गराएर देशलाई पुरानो लयमा फर्काउन सफल भएको दाबी गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर शाहीले मुलुकमा व्यवस्था परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन नसकेको बताउनुभयो । उहाँले किसानका समस्याप्रति ध्यानाकर्षण गराउँदै कृषिमा बिचौलियालाई नियन्त्रणमा लिन माग गर्नुभयो । उहाँले किसानले कृषिजन्य उपजको मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न आग्रह गर्नुभयो ।
जनता समाजवादी पार्टी नेपालका वीरेन्द्र महतोले किसानलाई समयमै मलखाद उपलब्ध गराउन माग गर्नुभयो । उहाँले भन्नुभयो, “किसानले आफ्ना कृषि उपज सडकमा फाल्न बाध्य छन् । मल किन्न पाएका छैनन्, यो अवस्थाको अन्त्य हुनुप¥यो ।” उहाँले नागरिकताको अधिकार कुण्ठित हुन नदिन तत्काल नागरिकता विधेयक पास गर्न माग गर्नुभयो ।
नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरीले पूर्वप्रधानमन्त्री केपी ओलीको नेतृत्वको आर्थिक विकास उहाँले भनेजस्तो नभएको दाबी गर्नुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरीले वन मन्त्रालयअन्तर्गतको समितिको परियोजनाका कर्मचारीले तलब नपाएको बताउनुभयो । उहाँले तराईका विभिन्न स्थानमा सुविधा सम्पन्न सहर बनाउन माग गर्नुभयो ।
नेकपा(माओवादी केन्द्र) का छिरिङल्हामु लामा (तामाङ)ले फलफूल र जडिबुटी उत्पादनका हिसाबले महत्वपूर्ण रहेको जुम्लामा त्यसको बजार नभएका कारण किसानले भोग्दै आएका समस्या समाधान गर्न माग गर्नुभयो ।
नेपाली कांग्रेसका पूर्णबहादुर तामाङले रामेछाप जिल्लाको उमाकुण्डमा लागेको डढेलोबाट लोपोउन्मुख वन्यजन्तु प्रभावित भएकाले समयमै डढेलो नियन्त्रण गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कांग्रेसका नागिना यादवले रासायनिक मलको बढ्दो मागअनुसार आपूर्ति नहुँदा किसान मर्कामा परेको बताउनुभयो । अवैध रुपमा भित्रिने मललाई नियन्त्रण गर्न उहाँले माग गर्नुभयो ।
संसद्मा बाधा अड्काउ फुकाउ आदेश पेस
प्रतिनिधि सभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश’ पेस भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानका तर्फबाट खानेपानीमन्त्री अब्दुल खाँनले मन्त्रिपरिषद्बाट जारी भएको सो आदेश सदनमा पेस गर्नुभएको हो ।
आदेशमा आयोगको कार्यविधि म्याद आगामी असार मसान्तसम्म थप गर्ने विषय उल्लेख छ । आयोगको म्याद गत असोज मसान्तसम्म मात्र थियो । गत साउन २८ गते सरकारले आयोगको म्याद थप गर्ने निर्णय गरेको थियो ।
सांसद चौधरी पक्राउ परेको सदनलाई जानकारी
यसैबीच प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेको जानकारी सदनलाई गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराउनुभएको हो ।
सांसदलाई पक्राउ परेका अवस्थामा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम (१) बमोजिम सदनलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।
राष्ट्रपतिबाट संघीय संसद्लाई सम्बोधनको जानकारी
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई यही माघ २७ गते सम्बोधन गर्ने हुनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले माघ २७ गते अपराह्न ३ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुने जानकारी गराउनुभएको हो ।
नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट संयुक्त सदनलाई सम्बोधन गर्ने व्यवस्था छ ।
प्रतिनिधि सभाको अर्को बैठक यही माघ २७ गते शुक्रबार अपराह्न ५ बजे बस्नेछ ।
–रासस
