काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले देश विकास नदेखेको र नसोचेको बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै एमाले अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको सरकारकै कारण देशको अर्थतन्त्र संकटमा परेको बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'कांग्रेसमा विद्वान साथीहरू हुनुहुन्छ, उहाँहरूले देश विकास र जनसेवाका लागि अघि सारिएका रूपान्तरणकारी नीति, योजना, कार्यक्रम, आयोजनाहरू सम्भव नै छैन, गर्न सकिन्न, गर्नु पनि हुँदैन भनेर धारणा राख्नुभएकै छ, कांग्रेसले देश विकास देखेकै छैन, सोचेकै छैन, पढेकै छैन - यो म भनिरहेको छैन, उहाँहरूकै अभिव्यक्ति, नीति र व्यवहारले सार्वजनिक गरिरहेको छ ।'
राष्ट्रपतिकाे चुनावमा खिचाेला खडा गर्न कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको पनि बताउनुभयाे ।राजनीतिमा किचलो सिर्जना नगर्न उहाँले कांग्रेसलाई सुझाव पनि दिनुभयाे । राष्ट्रिय सहमतिको नारा लगाएर राष्ट्रपति र सभामुखको लोभमा कांग्रेसले राजनीतिक अस्थिरता निम्त्याउने प्रयत्न अध्यक्ष ओलीले बताउनुभयाे ।
१० वर्षभित्रै देशलाई विकसित बनाउने प्रतिबद्धता पनि उहाँले जनाउनुभयाे । आफूहरुले सरकारी सम्पत्ति अतिक्रमण गर्ने विरूद्धको कारवाहीलाई सशक्त बनाएकाे अध्यक्ष ओलीले स्मरण गर्नुभयाे । कांग्रेस नेतृत्वको सरकारले राज्य संयन्त्र कमजोर बनाई निहित स्वार्थका लागि राज्यस्रोत र सार्वजनिक सम्पत्तिको दोहन गर्ने मात्र होइन, भ्रष्टाचार उपरको अनुसन्धानलाई रोक्ने काम गरेको उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'ललिता निवास, बालुवाटारको १३६ रोपनी जग्गा अतिक्रमण गर्ने विरूद्धको कारवाही, मातातीर्थको १७४ रोपनीको अनुसन्धान लगायत देशव्यापी रूपमा छानविन गरी अतिक्रमित जग्गा सरकारका नाममा ल्याउने र अतिक्रमणकारीलाई सजायँ गर्ने कार्यलाई अवरूद्ध पारिएको छ, अब सरकारले दृढतापूर्वक अनुसन्धान र मुद्दा दायर गर्ने कार्य अघि बढाउने छ, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति लिइने छ ।'
कांग्रेस नेतृत्वको सरकारले कालोधनलाई वैधानिक बनाउने तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानलाई फितलो बनाउने काम गरेका कारण मुलुक अन्तर्राष्ट्रिय जगत्मा कालोसूचीमा पर्ने जोखिमा पुगेको भन्दै उहाँले अहिलेकाे सरकारले अविलम्ब यसमा आवश्यक करेक्सन गर्ने बताउनुभयाे ।
