काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले अहिलेकाे सरकारले राष्ट्र समृद्ध बनाउने र जनतालाई सुख दिने काम गर्ने बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै एमाले अध्यक्ष ओलीले नयाँ सरकार गठन भएसँगै जनतामा उत्साहको सञ्चार भएकाे बताउनुभयाे । देशलाई अस्थिरतातर्फ जानबाट जाेगाउन एमालेकै पहलमा अहिलेकाे सरकार बनेकाे पनि उहाँले प्रष्ट पार्नुभयाे ।
अहिलेकाे सरकारले अर्थतन्त्रलाई तत्काल सही दिशामा अगाडि बढाउने र अर्थतन्त्रका विभिन्न आयामहरूमा देखापरेका समस्या (प्रोब्लम), महसुस भएको तनाव (स्ट्रेस) र व्यहोर्नुपरेको चाप (प्रेसर)लाई यथाशीघ्र सम्बोधन गर्ने उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'अर्थतन्त्रलाई गतिशील बनाउने छ, प्रमुख आर्थिक परिसूचकहरूलाई मजबूत बनाउने छ,अर्थतन्त्रका सबै क्षेत्रहरूमा उत्साहका साथ आर्थिक क्रियाकलापमा विस्तार ल्याउन अनुकूल वातावरण निर्माण गर्ने छ ।'
अध्यक्ष ओलीले मंसिर ४ मा चुनावमा स्पष्ट बहुमत प्राप्त नभएकाले जसरी पनि सरकार बनाउने सत्तालिप्सामा एमाले नरहेकाे र प्रतिपक्षमा बस्न तयार रहेकै बेला नयाँ राजनीतिक काेर्स सुरु गर्ने परिस्थिति बनेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'सरकार गठन गर्न कांग्रेसमा असाधारण रूची र व्यग्रता देखिन्थ्यो, कांग्रेसको स्वभाव अनुसार हामीले यसलाई सामान्य रूचिमा लिएका थियौं, तर प्रतिपक्ष मानसिकताका साथ काँग्रेस गठित सरकारको प्रतीक्षा गरिरहँदा संविधानको व्यवस्था बमोजिम निर्धारित समय गुज्रिन लाग्यो, असामयिक चर्चाहरू प्रकट हुन थाले, यो अनिश्चय बढ्दै गएको अवस्थामा राष्ट्रलाई अस्थिरतातर्फ जानबाट जोगाउन र राजनीतिक निकास दिनएमालेले पहल लिनुपर्ने अवस्था आयो, हामीले पहल सुरु गर्याैं ।'
एमाले अध्यक्ष ओलीले राष्ट्र समृद्ध बनाउने र जनतालाई सुख दिनका लागि सरकारले के गर्ने भन्ने पनि प्रष्ट पार्नुभयाे । उहाँले परराष्ट्र सम्बन्ध कसरी अगाडि बढाउने भन्ने पनि बताउनुभयाे । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका लगायत राज्यका सम्पूर्ण संरचनाहरू एक लयमा राष्ट्र र जनताको सेवाका लागि जनताको नाममा स्थापना भएका बताउँदै उहाँले भन्नुभयाे - 'सिंगाे संयन्त्र एक अर्काप्रति लक्षित होइन, साझा गन्तव्यमा पुग्नका लागि एकतावद्ध भएर लागौं, देश र जनताभन्दा माथि हाम्रा लागि कोही हुन सक्दैन ।'
अध्यक्ष ओलीका अनुसार अहिलेकाे सरकारले के-के गर्छ ?
- वर्तमान सरकार नयाँ जनादेशको जगको यथार्थतामा बनेको जननिर्वाचित सरकार हो । त्यसैले म, सिङ्गो सदनलाई आश्वस्त पार्न चाहन्छु, आम नेपालीलाई विश्वस्त रहन आग्रह गर्दछु– राष्ट्र समृद्ध बनाउने र जनतालाई सुख दिने काम हामी सम्पन्न गर्छौं । उद्योग व्यवसायी, लगानीकर्ता, द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारहरूलाई आग्रह गर्न चाहन्छु– यस सरकारले अर्थतन्त्रलाई तत्काल सही दिशामा अगाडि बढाउँछ । अर्थतन्त्रका विभिन्न आयामहरूमा देखापरेका समस्या (प्रोब्लम), महसुस भएको तनाव (स्ट्रेस) र व्यहोर्नुपरेको चाप (प्रेसर)लाई यथाशीघ्र सम्बोधन गर्ने छ । अर्थतन्त्रलाई गतिशील बनाउने छ, प्रमुख आर्थिक परिसूचकहरूलाई मजबूत बनाउने छ । अर्थतन्त्रका सबै क्षेत्रहरूमा उत्साहका साथ आर्थिक क्रियाकलापमा विस्तार ल्याउन अनुकूल वातावरण निर्माण गर्ने छ ।
- सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई एकअर्काको प्रवद्र्धकका रूपमा र राष्ट्रिय विकासको इञ्जिनका रूपमा परिचालन गर्नेछ । यी तीनै क्षेत्रको परिचालनबाट राष्ट्रिय सम्पत्तिको सिर्जना र बृद्धिका लागि अनुकूल वातावरण बनाउने छ । सरकारले राजश्व प्रशासनमा कर परिपालना र स्वच्छताको पहल लिइसकेको छ । सरकारले उद्योग व्यवसायीको उद्यमशीलतालाई प्रवद्र्धन गर्ने छ । कर तिर्नेले गर्व गर्ने र सङ्कलित राजश्व देश र नागरिकको हितमा प्रयोग हुने ग्यारेन्टी गर्ने छ ।
- सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा हामी सत्तारूढ दलहरूको सहमतिमा गठित सरकारले विलम्ब नगरी यी राष्ट्रिय महत्वका आयोजनाहरू अगाडि बढाउने छ÷सम्पन्न गर्ने छ । यस जननिर्वाचित सरकारले देशलाई गरीबी र पछौटेपनबाट मुक्त गर्ने छ, उच्चदरको आर्थिक वृद्धि हासिल गर्ने छ, आधुनिक, समतामूलक र समृद्ध समाजको विकास गर्ने छ । जनताको जीवनस्तरमा सुधार ल्याउने छ । जनसेवालाई सर्वसुलभ, गुणस्तरीय, प्रभावकारी र न्यायोचित बनाउने छ । हाम्रो सभ्यताको पुनरोदय गर्ने छ । अन्तर्राष्ट्रिय प्रतिष्ठालाई शिखरमा पुर्याउने छ । बढीमा १० वर्षभित्र यो राष्ट्रलाई विकसित हुँदै अति विकसित बनाउने लक्ष्यका साथ काम गर्ने छ । यी सबै अभिष्टहरूको एउटै नाम हामीले ‘समृद्ध नेपा, सुखी नेपाली’ राखेका छौं । यो हामी सबैको राष्ट्रिय आकाङ्क्षा हो । म नेपाली काँग्रेका साथीहरूलाई आश्वस्त पार्न चाहन्छु– १० वर्षभित्रै हामी देशलाई विकसित बनाउँछौं ।
- भ्रष्टाचार नगर्ने, हुन नदिने र भ्रष्टाचार भएमा त्यसउपर निर्मम र कठोरतापूर्वक कारवाही गर्ने यो सरकारको प्राथमिकता हो । कुनै पनि कालखण्डका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीउपर यो सरकारले कानूनी कारवाही अगाडि बढाउने छ । राजश्व चुहावट, सम्पत्ति शुद्धीकरण, विदेशी विनिमय अपचलन, सुन तस्करी लगायतका विषयहरूमा अनुसन्धान गरी मुद्दा दायर गर्ने कार्यलाई तीब्र बनाइने छ ।
- हामीले सरकारी सम्पत्ति अतिक्रमण गर्ने विरूद्धको कारवाहीलाई सशक्त बनाएका थियौं । काँग्रेस नेतृत्वको सरकारले राज्य संयन्त्र कमजोर बनाई निहित स्वार्थका लागि राज्यस्रोत र सार्वजनिक सम्पत्तिको दोहन गर्ने मात्र होइन, भ्रष्टाचारउपरको अनुसन्धानलाई रोक्ने काम गरेको छ । ललिता निवास, बालुवाटारको १३६ रोपनी जग्गा अतिक्रमण गर्ने विरूद्धको कारवाही, मातातीर्थको १७४ रोपनीको अनुसन्धान लगायत देशव्यापी रूपमा छानविन गरी अतिक्रमित जग्गा सरकारका नाममा ल्याउने र अतिक्रमणकारीलाई सजायँ गर्ने कार्यलाई अवरूद्ध पारिएको छ । अब सरकारले दृढतापूर्वक अनुसन्धान र मुद्दा दायर गर्ने कार्य अघि बढाउने छ । भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति लिइने छ ।
- काँग्रेस नेतृत्वको सरकारले कालोधनलाई वैधानिक बनाउने तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानलाई फितलो बनाउने काम गरेका कारण मुलुक अन्तर्राष्ट्रिय जगत्मा कालोसूचीमा पर्ने जोखिमा पुगेको रहेछ । सरकारले अविलम्ब यसमा आवश्यक करेक्सन (सुधार) गर्ने छ । सभामुख महोदय,
- सामाजिक मूल्य मान्यता, संस्कृति र सभ्यता मानव जातिको परिचय हो । नीति, कानूनको स्रोत हो, व्यवहारको आधारशीला हो । राष्ट्रको अस्तित्व र समाज सञ्चालनको निर्देशक फ्रेमवर्क हो । सामाजिक मूल्य मान्यता वर्षौदेखि निखार आउँदै विकसित अवस्थामा पुगेका हुन्छन् । यो सामाजिक सम्पत्ति हो । यसले समाजलाई एकतावद्ध र नैतिक बनाउँछ । हामीले ध्यान पुर्याउन जरूरी छ– कतै हाम्रा सामाजिक मूल्य मान्यतामा अतिक्रमण भएको त छैन ? नयाँ पुस्ताले बुझ्न नसकेर अवलम्बन गर्न छाडेका त छैनन् ? बाह्य प्रभावमा परेर छाडा संस्कृति भित्रिएको त छैन ? यसैको कारण राष्ट्रिय जीवनका विभिन्न आयाममा समस्या र सङ्कट बढ्दै गएका त होइनन् ?
- भ्रष्टाचार, अनियमितता, चोरी, हत्या लगायतका अपराधहरूमा भएको बृद्धिको जड खोज्दै जाँदा राजनीतिक, सामाजिक र आर्थिक मूल्य मान्यता र संस्कृतिको उपेक्षा, विलय र स्खलन प्रमुख कारण हुन सक्छन् । यसको समाधानका लागि हामीले समयमै संरक्षण, प्रवद्र्धन र विकासका सुधारात्मक अभियानहरू थाल्न जरूरी छ । नयाँ पुस्ताको मनोविज्ञान र व्यवहारलाई सिर्जनशील, नवप्रवर्तक र उद्यमशील बनाउने अभियानलाई यस सम्मानित सदनले दिशानिर्देश गर्ने मैले विश्वास लिएको छु ।
- काँग्रेस नेतृत्वको सरकारले परराष्ट्र सम्वन्धजस्तो सर्वाधिक महत्वको गम्भीर विषयमा विचलन ल्याउने काम गर्यो । सार्वभौमसत्ता, अखण्डता, स्वाधीनता र स्वतन्त्रताको वास्तविक अर्थमा अभ्यास गर्ने सामथ्र्य राखेन । सम्पूर्ण देशवासीलाई लज्जाबोध हुने परिदृश्य सञ्चार माध्यममा आए । अन्तर्राष्ट्रिय मञ्चहरूमा राष्ट्रको प्रतिनिधित्व कमजोर रह्यो ।
- नवगठित सरकारले यो राष्ट्रिय क्षति र जनताको लज्जाबोधलाई अविलम्ब सच्याउँदै हाम्रो परराष्ट्र सम्बन्धलाई आत्मविश्वास, पहिचान र सम्मानका साथ नयाँ उचाइँमा पुर्याउने छ । भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्रतालाई थप मजबूत बनाउने छ । सीमासम्बन्धी विवादहरू समाधान गरी नेपाली भूमिको रक्षा गर्ने छ । द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपाल र नेपालीको हित वृद्धिका लागि सशक्त र प्रभावशाली भूमिका खेल्ने छ । विश्व शान्ति, मानवता, विकास र वातावरण तथा द्वन्द्वको शान्तिपूर्ण व्यवस्थापनका विषयमा अग्रणी भूमिका खेल्ने छ ।
