काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकसँग छलफल गर्नुभएकाे छ ।
प्रधानमन्त्री प्रचण्डले दलका प्रमुख सचेतकसँग साेमबार छलफल गर्नुभएकाे हाे । प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे छलफल प्रतिनिधि सभामा पेस गर्नुपर्ने विधेयकका विषयमा केन्द्रित रहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
प्रधानमन्त्री र प्रमुख सचेतकहरुबीच भएकाे छलफलमा जनसरोकारसँग सम्बन्धित विकास, सुशासन, संक्रमणकालिन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकता लगायत विषयमा तयार भएका विधेयक सदनमा पेस गर्ने सहमति जुटेकाे छ । साे अवसरमा प्रतिनिधि सभालाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएकाे थियाे । प्रतिनिधि सभामा १२ दलले प्रतिनिधित्व गर्छन् ।
छलफलमा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुबबहादुर प्रधान, कानुन सचिव धनराज ज्ञवाली लगायतकाे उपस्थिति थियाे ।
