काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
बिहान ११ बजे बस्ने सुदूरपश्चिम प्रदेेश सभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे । मुख्यमन्त्री नियुक्त भएकाे एक महिनाभित्र प्रदेश सभाबाट विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका रावलले माघ २६ गतेभित्र विश्वासको मत लिनुपर्ने वाध्यता छ ।
नेकपा एमालेका रावल सत्ता साझेदार दल माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । तर नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरेपछि रावल अप्ठ्यारोमा पर्नुभएकाे छ । नागरिक उन्मुक्तिले विश्वासकाे मत दिने-नदिने औपचारिक रूपमा निर्णय गरिसकेको छैन ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ जना स्वतन्त्र सांसद् छन् ।
