काठमाडाैं । सुदूरपश्चिम प्रदेश सभा बैठक सरेकाे छ ।
बिहीबार दिउँसाे १ बजेका लागि बाेलाइएकाे बैठक अपरान्ह ४ बजेका लागि सारिएकाे हाे । आजकाे बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासकाे मत लिने कार्यसूची तय छ ।
यसअघि बुधबार पनि साेही कार्यसूची रहेकाेमा बैठक आजका लागि सारिएकाे थियाे ।
मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम दिन हाे । आजकाे बैठकमा उहाँले विश्वासको मत लिन नसके सरकार कामचलाउ हुनेछ । नयाँ सरकार गठनकाे प्रक्रिया अघि बढ्नेछ ।
मुख्यमन्त्री नियुक्त भएकाे एक महिनाभित्र प्रदेश सभाबाट विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका रावलले आज माघ २६ गतेभित्र विश्वासको मत लिनुपर्ने वाध्यता छ ।
तर नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान लिएपछि सुदूरपश्चिम प्रदेश सरकार पूर्णता नपाउँदै संकटमा परेको छ । नेकपा एमालेका रावल सत्ता साझेदार दल माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । तर नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरेपछि रावल अप्ठ्यारोमा पर्नुभएकाे हाे ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ जना स्वतन्त्र सांसद् छन् ।
