काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको राजनीतिले लय र गति समातिसकेकाले अबकाे ध्यान आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताउनुभएकाे छ ।
संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकलाई शुक्रबार सम्बाेधन गर्दे राष्ट्रपति भण्डारीले भन्नुभयाे - 'देशकाे राजनीतिले एउटा लय र गतिकाे समातिसकेकाले अब हाम्राे ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्छ भन्ने मैले ठानेकी छु ।'
संविधानले मार्गदर्शन गरेबमाेजिककाे स्वतन्त्र र समृद्ध अर्थतन्त्रकाे विकास गर्ने दिशामा राज्यका सम्पूर्ण अंग र निकायले संकल्प गरी त्यसकाे कार्यान्वयनमा परिचालन गर्नुपर्ने उहाँले बताउनुभयाे ।
यसबीचमा देशकाे आर्थिक सामाजिक क्षेत्रमा धेरै प्रगति भएका र विकास निर्माणले गति लिएकाे बताउँदै उहाँले प्रश्न गर्नुभयाे - 'तर याे गति प्रयाप्त छ त ? हरेक नागरिककाे विकास र समृद्धिकाे आकांक्षा पूरा गर्न हामीले गरेकाे प्रयासले सार्थकता पाएकाे छ त ? यी प्रश्नहरुलाई केन्द्रमा राखेर अवका हाम्रा कामकारबाही अगाडि बढ्नुपर्छ ।'
देशकाे आर्थिक अवस्था जटिल माेडमा रहेकाे विषयमा आफू चिन्तित रहेकाे राष्ट्रपति भण्डारीले बताउनुभयाे । अर्थतन्त्रमा देखिएकाे समस्याकाे तत्कालीन, अल्पकालीन र दीर्घकालीन समस्याकाे समाधान खाेज्न जरुरी रहेकाे बताउनुभयाे । राष्ट्रपति भण्डारीले अर्थतन्त्रकाे सूचकहरुमा पछिल्लाे समय केही सकारात्मक संकेत देखिएपनि आश्वस्त भइहाल्ने अवस्था नरहेकाे बताउनुभयाे ।
मुलुकको व्यापार घाटालाई न्यूनीकरण गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने भन्दै उहाँले अर्थतन्त्रको सूचकांक सुधार गर्नुपर्ने बताउनुभयाे । राष्ट्रपति भण्डारीले अर्थतन्त्रकाे सुदृढीकरणमा गम्भीर पाइला चाल्न जरुरी भइसकेकाे बताउनुभयाे । कोभिड-१९ र डेंगुका कारण अर्थतन्त्रमा असर परे पनि यसैलाई कारण बनाउँदै पन्छिन नपाइने उहाँले बताउनुभयाे ।
