काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको म्याद सात दिन थप गरिएको छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठकले नियमावली मस्यौदा समितिको म्याद सात दिन थपेकाे हाे । समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले शुक्रबार समितिको म्याद थप गर्नका लागि पेस गर्नुभएकाे प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभा नियमावलीको प्रारम्भिक मस्यौदा तयार भएको तर त्यसलाई पूर्णता सात दिन समय लाग्ने निर्णय समितिबाट भएकाले सोही प्रस्ताव प्रतिनिधि सभा बैठकमा पेस गरेकाे बताउनुभयाे ।
गत माघ १० गते बसेकाे प्रतिनिधि सभा बैठकले २१ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेकाे थियाे । समितिलाई कार्य प्रारम्भ भएको मितिले १५ दिनभित्र नियमावलीकाे मस्यौदा प्रतिनिधि सभामा पेस गर्न समय दिइएकाे थियाे । समितिदे माघ १३ गतेदेखि काम थालेकाे थियाे ।समितिको म्याद आजै सकिँदै थियो ।
