काठमाडाैं । नेकपा एमालेका सांसद् रघुजी पन्तले भीआईपी सवारीलाई सहज बनाउने विषयमा सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् पन्तले राष्ट्रपतिसहितका भीआईपी सवारी मापदण्ड व्यवस्थित गर्न नसक्नु सरकारकाे कमजाेरी भएकाे बताउनुभयाे ।
उहाँले सवारीलाई लिएर राष्ट्रपति जस्ताे गरिमामय संस्थालाई विवादमा ल्याउन नहुने बताउनुभयाे । सांसद् पन्तले सवारी अस्तव्यस्त हुनुमा राष्ट्रपतिकाे दाेष नभएकाे बताउनुभयाे ।
'अस्ती राष्ट्रपति ज्यू सम्बाेधन गरेर जानुभयाे,त्यसपछिकाे जामकाे विषयलाई लिएर देशभर सरकार सांसद् र राष्ट्रपति संस्थाप्रति नै नकारात्मक टिप्पणी भइरहेका छन्, दाेष राष्ट्रपतिकाे हाेइन, याे भन्दा अगाडि डा रामवरण यादव राष्ट्रपति हुनुहुन्थ्याे उहाँकाे पालामा पनि पटकपटक आलाेचना भयाे उहाँले यसलाई सरल बनाइयाेस् भनेर प्रयत्न गर्नुभयाे, अहिलेकाे राष्ट्रपतिमाथि याे भन्दा अगाडि पनि टिप्पणी भयाे उहाँले पनि यसलाई सरल र सहज बनाइयाेस् भन्नुभयाे, अस्ती म १ घण्टा जाममा परेँ,एम्बुलेन्स पनि जाममा पर्याे'-उहाँले भन्नुभयाे ।
सवारी चलाउने मापदण्डलाई लाेकतन्त्र अनुकूल खुकुलाे र सुरक्षाका दृष्टिकाेणले उपयुक्त बनाउनेबारेमा पटकपटक आवाज उठ्दा पनि सरकारले ध्यान दिन नसकेकाे सांसद् पन्तले बताउनुभयाे ।
'सवारी चलाउने मापदण्डलाई लाेकतन्त्र अनुकूल खुकुलाे र सुरक्षाका दृष्टिकाेणले उपयुक्त बनाउनेबारेमा पटकपटक आवाज उठ्दा पनि सरकारले ध्यान दिएकाे छैन, सरकारले यसमा उपयुक्त पाइला नचाल्ने, तर राष्ट्रपति जस्ताे गरिमामय संस्थाले यसवापतमा आलाेचना भाेग्नुपर्ने स्थिति आफैंमा सुखद हाेइन, मेराे सवारी कसरी चलाउने भनेर त राष्ट्रपतिकाे भूमिका हुँदैन, त्यसकाे सम्पूर्ण जिम्मा त सरकारकाे सुरक्षा संयन्त्रकाे हुन्छ,सुरक्षा संयन्त्रले जहिलेपनि आफू सेभ हुने प्रत्यन्त गर्छ'-उहाँले भन्नुभयाे ।
आफू प्रधानमन्त्रीकाे सल्लाहकार हुँदा सरलीकृत बनाऔं भनेर सुझाव दिँदा केही भयाे भने कसले जिम्मा लिन्छ भनेर भनिएकाे सांसद् पन्तले स्मरण गर्नुभयाे । भीआईपी सवारी सम्बन्धमा उठेका प्रश्नकाे समाधान राजनीतिक नेतृत्व र प्रधानमन्त्री तहबाट हुनुपर्ने उहाँले बताउनुभयाे ।
'याे प्रश्नकाे समाधान राजनीतिक नेतृत्वबाट हुनुपर्छ प्रधानमन्त्रीकाे तहबाट हुनुपर्छ, आज व्यक्ति केन्द्रित भएर राष्ट्रपतिमाथि प्रहार भइरहेकाे छ,लाेककाे याे आवाजप्रति हाम्राे संयन्त्र संवेदनशील हुन सकेन,मैले लाज लागेर मुख छाेप्नुपर्याे, यस्ताे प्रणालीकाे समयानुकूल परिमार्जन आवश्यक छ,याे गर्ने भनेकाे सरकारले हाे, सरकारले नगर्ने अनि राष्ट्रपतिले किन गाली खाने ? राष्ट्रपति जस्ताे संस्था किन विवादमा पर्ने ? त्यसकारण यस विषयमा म प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराउन चाहान्छु, औपचारिक कार्यक्रममा जाँदा यस्ताे सवारीहरुलाई सहज सजिलाे र जनतालाई अप्ठेराे नपर्नेगरी कसरी व्यवस्था गर्ने हाे याे सरकारकाे दायित्व हाे'- पन्तले भन्नुभयाे ।
