काठमाडौ । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार संशोधन गरेको छ ।
चालु आर्थिक वर्ष २०७९-८० को अर्धवार्षिक बजेट समीक्षामार्फत अर्थ मन्त्रालयले बजेटको आकार २ खर्ब ४४ अर्बले घटाइएको हो ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याउनुभएकाे थियाे । तर उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारिएकाे आइतबार प्रतिनिधि सभालाई जानकारी गराउनुभएकाे छ ।
प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उहाँले चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोडमा झारेको जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे - 'चालु आर्थिक वर्षमा रू.१७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख खर्च हुने अनमुान गरिएकोमा रू.१५ खर्ब ४९ अर्ब ९९ करोड ७७ लाख खर्च हुने संशाेधित अनमुान गरिएको छ, यो रकम सुरु विनियाेजनकाे ८६.४१ प्रतिशत हाे ।'
अर्थमन्त्री पाैडेलले पूँजीगततर्फ गत जेठ १५ मा ३ खर्ब ८० अर्ब ३८ करोड छुट्याइएकोमा ३ खर्ब १३ अर्ब ८५ करोड रुपैयाँमा झारिएको बताउनुभयाे । उहाँले भन्नुभयाे - 'चालुतर्फ रू.१० खर्ब २१ अर्ब ९२ करोड ८४ लाख अर्थात विनियाेजनकाे ८६.३७ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब १३ अर्ब ८५ करोड १६ लाख अर्थात विनियोजनको ८२.५१ प्रतिशत र वित्तिय व्यवस्थापनतर्फ रू.२ खर्ब १४ अर्ब २१ करोड ७७ लाख अर्थात विनियाेजनको ९३.०५ प्रतिशत खर्च हुने अनुमान गरिएकाे छ ।'
राजस्व संकलनको लक्ष्य पनि घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड बनाइएको छ । गत जेठ १५ मा १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ संकलनको लक्ष्य राखिएको थियो ।
हेर्नुस् पूर्णपाठ:
