काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. प्रकाश शरण महतले काठमाडौंको नयाँ बसपार्कमा मजदुर आन्दोलनको नाममा भएको घटनाले कानुनी शासनको खिल्ली उडाएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै महतले यस विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सुरक्षाको जिम्मा प्रधानमन्त्रीले लिएको अवस्थामा दिनदहाडै व्यवसायीको महलमा लुटपाट भएको उहाँले बताउनुभयो । ‘शान्ति सुरक्षाको कुनै प्रत्याभूति सरकारले दिन सकेन’, उहाँले भन्नुभयो ।
नेपाली कांग्रेस सबै व्यवसायी र मजदुरको सुरक्षाको पक्षमा रहेको भए पनि मजदुरकै नाममा लुटपाट हुनु दुखद विषय भएको उहाँले बताउनुभयो । यस्ता घटनामा कारबाही नहुनुले सबैलाई गम्भीर बनाएको उहाँले बताउनुभयो । काठमाडौँमा समेत सरकारले सुरक्षाको ग्यारेन्टी लिन नसक्दा दूरदराजको स्थिति के हुन्छ ? भदै उहाँले प्रश्न गर्नुभयो ।
मजदुरको नाममा विभिन्न शक्तिको आडमा अन्य शक्तिले सो घटना गराएको हुनसक्ने बताउँदै महतले सो घटनाको उचित छानबिन गर्न आग्रह गर्नुभयो । त्यसो भएन भने देश भरि अराजकता बढ्ने उहाँले बताउनुभयो ।
उहाँले मजदुरको माग पनि सम्बोधन हुनु पर्ने र बालाजु घटनाका दोषीलाई पनि कारबाही हुनुपर्ने बताउनुभयो । यसमा सरकारलाई गम्भीर हुन महतले ध्यानाकर्षण गराउनुभयो ।
