काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सरकारले जनयुद्ध दिवसको नाममा बिदा दिएको भन्दै आलोचना गर्नुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सुवालले संविधानमा जनयुद्ध भन्ने शब्द कतै नलेखिएको भए पनि सो दिवसको नाममा बिदा दिएको भन्दै आलोचना गर्नुभएको हो । उहाँले जनयुद्ध दिवसले नेपाललाई कुनै उपलब्धि नदिएको बताउनुभयो । ‘जनयुद्ध दिवसको उपलब्धि के हो ? कृषि, स्वास्थ्य, रोजगारी, शिक्षा, ऊर्जा, देशको सुरक्षा, परनिर्भर बनाउनु जनयुद्धको उपलब्धि हो र ?’ सुवालले प्रश्न गर्नुभयो ।
राष्ट्रपतिको भ्रमणमा सडक जाम हुँदा धेरै मानिसले दुःख पाएको भन्दै उहाँले आलोचना गर्नुभयो । राष्ट्रपतिको यात्रामा सडक जाम नहुने व्यवस्था किन मिलाउन नसकेको भन्ने विषयमा गृह मन्त्रीको जिम्मेवारी लिनुभएका प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने सुवालले माग गर्नुभयो ।
नेपालमा राणा शासनको जस्तो बिदा नै बिदा दिने परम्परा सुरु भएको भन्दै उहाँले आलोचना गर्नुभयो । बेलायत र अमेरिकाबाट बिदा कटौतीको पाठ सिक्न उहाँले सरकारलाई सुझाव दिनुभयो ।
अर्थमन्त्रीले मल खरिद गर्न बजेट अभाव नहुने बताउनुभएको भए पनि अर्थ मन्त्रालयले बजेट नपठाउँदा मल खरिद हुन नसकेको भन्दै उहाँले यसमा कतै कमिसनको चक्कर त चलेको छैन भन्दै प्रश्न गर्नुभयो ।
उहाँले निजी बैँकलाई राष्ट्रियकरण गर्न पनि माग गर्नुभयो । निजी बैँकलाई राष्ट्रियकरण गरी जलविद्युत क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो ।
