काठमाडौं । प्रतिनिधि सभा सदस्य चन्द्रकान्त भण्डारीले नेपाली समाज ६५ वर्षदेखि खाना, नाना र छानाकै समस्यामा अल्झिएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै भण्डारीले जतिसुकै कुरा गरे पनि यिनै कुरामा अल्झिने हो भने देश अघि नबढ्ने बताउनुभयो । विश्वमा कतै नभएको धनी र गरिबको लागि अलग अलग शिक्षा नेपालमा नै भएको भन्दै उहाँले आलोचना गर्नुभयो ।
विश्व टेलीमेडिसियनमा जाँदा पनि नेपालमा सामान्य स्वास्थ्य उपचारमा समेत समस्या रहेको उहाँले बताउनुभयो । ‘यो कुरा कसलाई भन्ने कसलाई सुनाउने ? स्वास्थ्यमा माफियाहरूको जगजगी छ’, भण्डारीले भन्नुभयो ।
शिक्षा, स्वास्थ्य, कृषि हरेक क्षेत्रमा माफियाको हाबी भएको उहाँले बताउनुभयो । ‘हामीले कहिलेसम्म माफिया तन्त्रको सामना गर्ने’, उहाँले भन्नुभयो ।
नेताहरूको समाज र जनता प्रति कुनै सद्भाव नभएको उहाँले टिप्पणी गर्नुभयो । यस्ता मानिसलाई कसरी नेता भन्ने भन्दै उहाँले प्रश्न गर्नुभयो । पूर्व प्रधानमन्त्री र प्रधानमन्त्रीले संसद्मा समयको लगाम बिना कयौँ भाषण गरे पनि त्यसले नागरिकलाई केही नदिएको उहाँले टिप्पणी गर्नुभयो ।
नेपालसँग हरेक चिज भए पनि कुनै क्षेत्रमा प्रगति गर्न नसकेको उहाँले बताउनुभयो । बाहिरबाट रक्सी ल्याएर नेपालका पसल चलेका उहाँले बताउनुभयो । जनजातिले बनाएका रक्सी पुलिस लगाएर पोख्ने, तर होलिवाइन ल्याएर छिटेर सुद्ध हुने कुराले देशले समृद्धि प्राप्त नगर्ने उहाँले प्रष्ट पार्नुभयो ।
अख्तियारले भ्रष्टाचार गर्नु अपराध हो भन्ने रिङ टोन बजाएकोमा पनि उहाँले आलोचना गर्नुभयो । भ्रष्टाचारको फाइल अघि बढाउन कसले रोक्यो र अख्तियार टोन बजाएर बस्छ भन्दै उहाँले आलोचना गर्नुभयो ।
उहाँले ६५ वर्षसम्म एउटै नारा बोकेर हिँड्ने नेताबाट देश चल्न नसक्ने बताउनुभयो । उहाँहरू कि त सुध्रिनु पर्न कि त सन्यासको बाटोमा लाग्नु पर्ने उहाँले सुझाव दिनुभयो ।
