काठमाडौं । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले सडक दुर्घटना न्यूनीकरणको लागि सरकारले विशेष योजना बनाएर काम गर्नु पर्ने बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै भट्टराईले नेपालमा सडक दुर्घटना कहालीलाग्दो अवस्थामा रहेको बताउनुभयो । दुर्घटनामा ज्यान गुमाउने ठुलो सङ्ख्या युवा रहेको पनि उहाँले बताउनुभयो । ‘हाम्रो दुर्घटनाको दर बढेको छ, मृत्यु हुनेको दर बढेको छ, मानिस नै मर्ने हो, युवा नै मर्ने हो’, भट्टराईले भन्नुभयो ।
सडकको गुणस्तर, यातायातको गुणस्तर, अनुमति पत्र वितरण लगायतका विषयमा देखिएका समस्याले नेपालमा सडक दुर्घटना बढेका भट्टराईले बताउनुभयो । उहाँले अब रोड सेफ्टी काउन्सिल र रोड सेफ्टी एक्सन प्लान बनाउनु पर्ने उहाँले सुझाव दिनुभयो । ‘ तत्काल रोड सेफ्टी काउन्सिल बनाउनुपर्छ’, उहाँले भन्नुभयो ।
नेपालका कुनै पनि सडक अपाङ्गमैत्री नभएका, साइकल लेनको व्यवस्था नभएको उहाँले बताउनुभयो । सडक अनुशासनको काम अझै हुन नसकेका उहाँले प्रष्ट पार्नुभयो ।
