काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तत्काल गृहमन्त्री नियुक्त गर्न माग गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् शाहीले तत्काल गृहमन्त्री नियुक्त गरेर गाेंगबु घटनाका दाेषीलाई कारबाही गर्न माग गर्नुभयाे ।
प्रधानमन्त्रीले धेरै मन्त्रालयकाे जिम्मेवारी लिएकाेमा पनि उहाँले आपत्ति जनाउनुभयाे । 'याे देशमा गृह मन्त्रालयकाे संयन्त्र छ, तर गृहमन्त्री किन खाली ? प्रधानमन्त्री नै सबै मन्त्रालयमा हुने हाे भने अरु मन्त्रालय किन बनाएकाे ? सबका सब मन्त्रालय प्रधानमन्त्रीलाई दिएर खाली गरे भइगाेनि, किनभने देशमा लुटतन्त्र हावी भएकाे छ, लाेकतन्त्रका नाममा लुटतन्त्र गर्न पाइँदैन, संसारका कुनै देशमा देखिने दृश्यजस्ताे हिजाे गाेंगबुमा देखियाे, तिनलाई तत्काल कारबाही अगाडि बनाइयाेस् र गृहमन्त्री तत्काल नियुक्त गरियाेस्'- शाहीकाे माग छ ।
गाेगंबुमा साेमबार साँझ भएकाे घटनामा एक्सन नलिएकाे समेत उहाँले आपत्ति जनाउनुभयाे । 'याे देशमा सरकार छ या छैन, यदि सरकार छ भने प्रधानमन्त्री निवास भन्दा जम्मा ३ किलाेमिटर अगाडि लुटपाट हुन्छ प्रहरी निकम्मा भएर हेरिरहेकाे, सरकार छ भने कराेडाैं लगानी गरेका व्यवसायिहरु किन डुब्दैछन् ? यदि सरकार छ भने हामीले मजदूरका लागि किन एेन बनाउँदैनाैं ? प्रहरीलाई निकम्मा बनाउने काे हाे ?- सांसद् शाहीकाे प्रश्न छ ।
