काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् हरि ढकालले कृषि अनुदानमा व्यापक दुरुपयाेग र भ्रष्टाचार भएकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् ढकालले कृषि अनुदानमा व्यापक भ्रष्टाचार भएकाले छानबिन गर्नुपर्ने बताउनुभयाे ।
वास्तविक किसानले कृषि अनुदान नपाएकाे भन्दै उहाँले ३३ वर्षमा कृषि अनुदानबारे के-के भयाे भनेर उत्खनन् गर्न आवश्यक रहेकाे बताउनुभयाे । सांसद् ढकालले सबैभन्दा पहिला भ्रष्टाचारकाे छानबिन गर्ने हाे भने कृषि अनुदानबाटै सुरु गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
'किसान र कृषि क्षेत्रकाे उत्थान गर्नका लागि विभिन्न निकाय छन्, ती निकायबाट अनुदान जान्छ, झाेलामा गाई पाल्ने, झाेलामा खेती लाउने ती झाेले किसानलाई त्यही निकाय र संरचनाबाट झाेलामै अनुदान हालिदिएकाे अवस्था छ, अनुदानकाे व्यापक दुरुपयाेग भएकाे छ,भ्रष्टाचार भएकाे छ, सबैभन्दा पहिला भ्रष्टाचारकाे छानबिन गर्ने हाे भने कृषि अनुदान दुरुपयाेगकाे छानबिनबाट सुरु गराैं'-उहाँले भन्नुभयाे
काठमाडाैंकाे चुलाे पाल्ने किसानका अनुदानलाई समेत नछाेड्नेहरु पापी भएका समेत सांसद् ढकालले बताउनुभयाे । एकद्वार प्रणालीमार्फत वडामै कृषि अनुदान पठाउनेगरी नीति बनाउनुपर्ने उहाँले बताउनुभयाे । सांसद् ढकालले भन्नुभयाे - 'वडामा त तल्लाघरले गाई पालेकाे छ-छैन, माथिल्लाघरले खेती लगाएकाे छ छैन अनुगमन गर्नैपर्दैन, एउटा नीति बनाइदिऔं, अनुदान प्रत्यक्षरुपमा पालिकामा पठाइदिऔं, खरिद एेन संशाेधन गराैं र मल खरिद गर्न स्वायत्त अधिकार पालिकालाई दिऔं ।'
आफूहरुले उठाएका विषय तत्काल कार्यान्वयन गर्न उहाँले कृषिमन्त्रीकाे ध्यानाकर्षण समेत गराउनुभयाे । उहाँले भन्नुभयाे - 'नीति र थिति बसाल्ने बहस चल्दै गर्दा, किसानका मुद्दामा धेरै बहस चल्दै गर्दा, प्रत्यक्ष रुपमा अनुभूति हुनेगरी काम गर्ने हाे, म कृषिमन्त्रीज्यूलाई भने हामीले उठान गरेका मुद्दामा बहस गर्न र कार्यसम्पादन सुरु गर्न आव्हान गर्दछु ।'
सांसद् ढकालले प्रतिनिधि सभामा सांसद्काे उपस्थितिकाे विषयमा समेत कुरा उठाउनुभयाे । उहाँले भन्नुभयाे - 'शपथ लिएकाे २ महिना पनि पुगेकाे छैन, गरिमामय संसद्काे याे उपस्थिति देखेर अनाैठाे लागिराखेकाे छ, ५ वर्षकाे कार्यकाल सकिँदासम्म त के हुन्छ भनेर प्रश्न खडा भएकाे छ, ५ वर्षकाे कार्यकाल सकिने समयसम्मत केही युवा साथी र नयाँ साथी मात्र त हुन्नाैं भनेर प्रश्न खडा भएकाे छ ।'
