काठमाडाैं । नेकपा एकीकृत समाजवादीका सांसद् राजेन्द्र पाण्डेले ७० अंक ल्याउँदा पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने व्यवस्था गलत भएकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् पाण्डेले यातायात व्यवस्था विभागले जारी गरेको सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ गलत भएको बताउनुभयाे । ७० अंक ल्याउँदा पनि सवारी चालक अनुमति लाइसेन्स दिने व्यववस्थाले दुर्घटना बढाउने उहाँकाे ठहर छ ।
यस्ताे खालकाे मापदण्ड परिवर्तन गर्नुपर्ने सांसद् पाण्डेले बताउनुभयाे । '७० नम्बरकालाई नै लाइसेन्स दिन मन भए पनि रातो बत्ति बाल्दाबाल्दै गाडी क्रस गर्न पाउने व्यवस्था हुनुहुँदैन, गाउँमा नागरिकता टाेली आउँदा टेबल राखेर नागरिकता बाँडेझैं लाइसेन्ड बाँडे भयाे नि, एसईई पास गरेकाे विद्यार्थीलाई सर्टिफिकेटसँगै एउटा लाइसेन्स पनि लएर जाउ भने भयाे नि,किन याे ड्रायल लिनुपर्याे ?'-उहाँकाे प्रश्न छ ।
अब नेपालका लाइसेन्स दुई खालका हुने बताउँदै सांसद् पाण्डेले भन्नुभयाे - 'माेटरसाइलकल स्कुटर, माेपेट, कार, जीप, डेलिभरी भ्यानकाे ७० नम्बर ल्याउँदा चालक हुन पाउने भयाे, ट्रक, बस, ट्यांकर, स्काभेटर, डाेजर आदिलाई १०० नम्बर ल्याउनुपर्ने भयाे, उही सडकमा गुड्दा दुई खालकाे लाइसेन्स हुने भयाे' ।
याे व्यवस्थाले ४० प्रतिशतले राजस्व घट्ने, झन् धेरै दुर्घटना गराउने, कर्मचारीको तजबिजी अधिकार बढ्ने, परीक्षाका लागि कर्मचारी र लागत बढ्ने हुँदा खर्च बढ्ने र नेपालकाे लाइसेन्स अन्तर्राष्ट्रिय रुपमा अमान्य हुन सक्ने उहाँले बताउनुभयाे ।
आफू वाग्मती प्रदेशको मुख्यमन्त्री हुँदा यस्तो व्यवस्था ल्याउन रोकेको भए पनि अहिले सरकारले यो व्यवस्था लागु गरेको भन्दै उहाँले आपत्ति समेत जनाउनुभयाे ।
गाेगंबु घटना खेदजन्य भएकाे भन्दै उहाँले त्यसबारे छानबिन गरी दाेषीलाई कारबाही गर्न माग गर्नुभयाे ।
