नकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सांसद् असिम शाहले नेपाली राजनीतिमा नायक र खलनायक नै चिन्ह गाह्राे भएकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् शाहले नेपालको राजनीतिलाई चलचित्रको संज्ञा दिनुभयाे । त्याे राजनीतिक चलचित्रका खास पात्र छुट्याउन गाह्राे भएकाे उहाँले बताउनुभयाे
'म चलचित्र निर्देशक भएर चलचित्र डामाडोल बनाउन लागेको थिएँ, तर देश बनाउने हुटहुटीले चलचित्र निर्देशक छाडेर मेरा रवि लामिछानेलाई होस्टेमा हैंसे गर्दै यो सदनसम्म आइपुगेँ, जब यहाँ आइपुगेँ, यहाँ त रोमाञ्चक राजनीतिक चलचित्र चलिरहेको रहेछ, मैले बनाउने चलचित्रमा पात्रहरु, कथाहरु स्पष्ट हुन्छन्, नायक र खलनायक को हो ? स्पष्ट हुन्छन्, तर यहाँ नायक को हो ? खलनायक को हो चिन्न नै गाह्रो भयाे, अस्तिसम्म नायक देखिएका पात्रहरु आज खलनायक जस्ता देखिन थाले, खलनायक जस्ता देखिएका पात्र नायक जस्ता देखिन थाले'-शाहले भन्नुभयाे ।
पार्टी सभापति लामिछानेलाई नागरिकता मुद्दामा पदमुक्त गरिएकाे प्रसंग निकाल्दै उहाँले उपचुनावपछि रवि पुन: फर्केर आउने संकेत गर्नुभयाे । सांसद् शाहले भन्नुभयाे - 'एउटा हाम्राे पात्रलाई यसरी डाँडा कटाइएकाे छ मानाैं उ कहिल्यै फर्केएर आउँदैन, तर अहिले त मध्यान्तर पनि भइसकेकाे छैन, हाम्राे पात्र आउँछ ।'
नेपाली राजनीतिमा नेपालीकाे बाह्य हस्क्षेप स्वीकार्य नहुने भन्दै उहाँले नेपालकाे राजनीतिक चलचित्र नेपालीले नेपालकै माटाे सुहाउँदाे हुनुपर्ने बताउनुभयाे ।
'संसद्मा हामीलाई जुन चलचित्र देखाइएकाे छ, यसकाे पटकथा कसले लेख्दैछ ? यसका निर्देशक काे हुन् ? राष्ट्रिय हुन् कि अन्तर्राष्ट्रिय आज जनजनले प्रश्न गरिरहेका छन्, चलचित्र जस्ताे भएपनि एउटा माैलिकता बाेकेकाे र नेपाली माटाे सुहाँउदाे हुनुपर्छ, हामीलाई चाहिने नेपाली राजनीतिक चलचित्र नै हाे, याे कथा नेपालीले नै लेखेकाे हुनुपर्छ, म कामना गर्छु याे राजनीतिक चलचित्रकाे अन्त्य संयाेगान्त हाेस्'-शाहले भन्नुभयाे ।
जनताकाे आवाजलाई बुलन्द पार्न आफू सदनमा आएकाे भन्दै उहाँले जनताकाे भावना विपरित नजाने प्रतिबद्धता जनाउनुभयाे । संसद् भवनमा सांसद्काे रुपमा प्रवेश गर्दा आफू आत्तिएकाे समेत शाहले बताउनुभयाे ।
सांसद् शाहले बायाेमेट्रिक हाजिरीकाे व्यवस्था गर्न पनि सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
