काठमाडौं । प्रतिनिधि सभा सदस्य असीम शाहले सांसदको रूपमा प्रतिनिधि सभामा पुग्दा आफू निक्कै आत्तिएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभाका कुर्सीले आफूलाई बारम्बार खबरदार षडयन्त्रमा पर्लास् र षडयन्त्र गर्लास् भनेर खबरदारी गरिरहेका शाहले बताउनुभयो । ‘जाल झेलको कुरा गर्दा अहिलेको नेपाली युवा पुस्ताले यसरी चिनिरहेका छन् भन्ने कुरा म अवगत गराउन चाहन्छु, आशा छ हामीले पाँच वर्ष यो संसद्मा यसरी काम गरौँ, यो परिभाषा परिवर्तन गर्न सकियोस्’, शाहले भन्नुभयो ।
शाहले नेपालको राजनीतिमा नायक र खलनायक चिन्नै गाह्रो भएको बताउनुभयो । ‘यहाँ नायक र खलनायक चिन्नै गाह्रो भयो, यहाँ नायक को हो, खलनायक को हो, चिन्न गाह्रो भयो, अस्तिसम्म नायक जस्ता देखिएका पात्र खलनायक देखिन थाले, खलनायक जस्ता देखिएका पात्र नायक देखिन थाले’, उहाँले भन्नुभयो ।
उहाँले संसदीय राजनीतिका एक पात्र आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई डाँडा कटाउने प्रयास गरिएको बताउनुभयो । ‘एउटा हाम्रो पात्रलाई यसरी डाँडा कटाइएको छ, मानौँ ऊ कहिल्यै पनि फर्केर आउँदैन, तर अहिले त मध्यान्तर पनि भइसकेको छैन, हाम्रो पात्र आउँछ’, उहाँले भन्नुभयो ।
उहाँले संसदमा देखिइराखिएको चलचित्रको कथा र पटकथाको लेखक र निर्देशक राष्ट्रिय हुन् कि अन्तर्राष्ट्रिय हुन् ? भन्दै प्रश्न गर्नुभयो । यो प्रश्न जनजनले गरिरहेका उहाँले बताउनुभयो ।
चलचित्रको अन्त्य संयोगान्त र वियोगान्त हुने बताउँदै शाहले संसदमा अहिले देखिएको चलचित्रको अन्त्य संयोगान्त होस् भन्ने कामना गर्नुभयो । भोलि जनताको बिचमा जाँदा फूलको माला लगाएर जाने वातावरण बन्नु पर्ने उहाँले बताउनुभयो ।
प्रतिनिधि सभामा सांसदहरूको उपस्थिति नियमित बनाउन बायोमेट्रिक हाजिरीको व्यवस्था मिलाउनु पर्ने उहाँले सुझाव दिनुभयो । यसो गरियो भने आफ्ना प्रतिनिधि कहाँ छन् भन्ने कुरा जनताले थाहा पाउने उहाँले बताउनुभयो ।
